हटस्पट बाट ग्रिन जोनमा फर्कँदै दैलेख
कमल शर्मा
दैलेख : गत जेठ पाँच गते कर्णाली प्रदेशमा दैलेख जिल्लाको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवकमा पहिलो कोरोना सङ्क्रमण पुष्टि भयो । ४१ दिन भारतको वनवासमा क्वारेनटाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आउनु भएको थियो । सीमापारि भारतको वनवासमा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत ३१ गते सङ्क्रमित युवासँगै ३९ जनालाई उद्धार गरी ल्याइएको थियो । उद्धार गरी ल्याइएका ३९ जनालाई नगरपालिका वडा नः १ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा क्वारेनटाइनमा राखेर स्वाब परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण भएको थियो ।
त्यस यता लगातार दैनिक एक सय २० जना सम्ममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सरकारले दैलेख लगायतका चार जिल्लालाई कोरोनाको हटस्पट भएको भन्दै उच्च सर्तकर्ता अपनाउन निर्देशन दिएको थियो । कर्णाली प्रदेशको सबै भन्दा बढी कोरोना सङ्क्रमण पुष्टि भएको दैलेख कोरोनाको रेडबाट ग्रिन जोनतर्फ प्रवेशको चरणमा रहेको छ । चार महिनादेखि कोरोना महामारी समस्या झेल्दै आएको दैलेखमा पछिल्ला दिन कोरोनाका बिरामीहरू घट्दै गएपछि ग्रिन जोनमा झार्नका लागि जिल्लाको सुरक्षा,स्वास्थ्य,र स्थानीय तह त्यस तर्फ केन्द्रित भएका छन् ।
जिल्लाका ११ स्थानीय तहमा रहेको दैलेखमा शनिवार सम्म ९ सय ३४ जना कोरोनाका बिरामी मध्ये ९ सय ९ जना कोरोना मुक्त भई डिस्चार्ज भएको र २५ जना आइसोलेसनमा राखेर उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखको विवरणमा उल्लेख गरिएको छ।
कोरोना विपद् व्यवस्थापन समिति दैलेखका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले कोरोना परीक्षणका लागि दुई वटा तरीकाबाट अवलम्बन गरी परीक्षण गर्दा रिपोर्ट सन्तोषजनक आएपछि दैलेख ग्रिन जोनतर्फ प्रवेश गरेका बताए । उनले जिल्ला स्तरको कोरोना विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकारहरू र नागरिकहरूले देखाएको सतर्कताका कारण दैलेखमा कोरोनाका बिरामी बढ्न नपाएकाले त्रासमा रहनुपर्ने अवस्था नरहेको बताए । उनले भने हामी कुनै बेला कोरोना सङ्क्रमण समुदायमा जाने र ठुलो समस्या पैदा हुन्छ कि भन्ने अवस्थामा थियो त्यो बिचमा हामीले ठुलो कठिनाइ भोग्नुप¥यो त्यही कठिनाइको परिणामले अहिले हामी कोरोनाको रेड जोन बाट ग्रिन जोन तर्फ फर्कने तयारीमा छौ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले पछिल्ला दिनहरूमा समुदाय स्तरमा समे कोरोना सङ्क्रमण फैलियो की भन्ने आंशकामा दैलेखका ११ स्थानीय तहका विभिन्न वडामा बस्ने नागरिकको स्याम्पलका रूपमा ७० देखी माथिका पिसिआर परीक्षण गरिएको बताउनुभयो । उहाँले कन्ट्याक ट्रेसिङबाट कोरोना पोजेटिभ नदेखिनु, आइसोलेसनमा रहेका धेरै बिरामी उपचार पछि घर फर्किएका कारण दैलेख रेड जोन बाट ग्रिन जोनमा प्रवेशको चरणमा रहेको बताए । उनले दिएको जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालयको आइसोलेसनमा १५ जना, दुल्लु अस्पतालको आइसोलेसनमा १ जना, महाबु आइसोलेसनमा ८ जना, डुंगेश्वर आइसोलेसनमा १ जना गरी २५ जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले व्यवस्थापन कमजोर भएका कारण कोरोना सङ्क्रमण दर बढ्ेपनि पछिल्लो समय व्यवस्थापन राम्रो र सुरक्षा सम्बेदनशिता बढाए सँगै कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा रहेको बताए । उनले भारत बाट उद्धार गरेर ल्याएका नागरिकको पिसिआर परीक्षण गर्दा रिर्पोट ढिला आएका कारण पनि कोरोना बढेको बताउँदै दैलेखमै पिसिआर प्रयोगशाला आएपछि सहज भएको बताए । उनले भन्नुभयो यो चार महिनामा हामीले कोरोना सङ्क्रमितलाई राख्नको लागि आइसोलेसन अस्पताल निर्माण गरेर र पिसिआर ल्याव सञ्चालनमा ल्याएपछि धेरै सहजता भएको भन्दै त्यसको समन्वय गर्ने प्रतिनिधि सभा सदस्य रवीन्द्र शर्मा र प्रदेश सांसद अम्मर थापालाई विशेष धन्यवाद दिए । उनले भने सङ्घको सांसदले खर्च गर्न पाउने रकम बाट पिसिआर ल्याव खरिद र प्रदेश सांसदले खर्च गर्न पाउने रकम बाट आइसोलेसन अस्पताल निर्माण गरिपछि सहजता भएको छ ।