Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

घर फर्केकालाई रोजगारीको चिन्ता


दैलेख  : कोरोना भाइरस सङ्क्रमणका कारण भारत लगायत तेस्रो मुलुक बाट स्वदेश फर्किएका नागरिकलाई रोजगारीको चिन्ताले सताउन थालेको छ । कोरोनाका कारण रोजगारी गुमाएर फर्किएका उनीहरू गाउँमा समेत कुनै काम नपाउँदा समस्यामा परेको बताएका छन् । ५ वर्ष देखी भारतमा ठेक्का पट्टाको काम गरी आफ्नो परिवार पाल्दै आएका दैलेखको भगवतिमाई गाउँपालिकाका वडा नः २ का रामबहादुर बिकलाई बेरोजगार भएर बस्नु पर्दा चिन्ताले सताउने गरेको छ । उनले भारतमा ठेक्का पट्टाको काम गरेर परिवारलाई घर खर्च चल्ने गरेको भए पनि गाउँमा कुनै रोजगारी नभएपछि परिवार पाल्न समेत हम्मे भएको बताए । उनले कोरोनाको डरले गाउँमा आइयो गाउँमा कुनै रोजगारी छैन कसरी खाने भन्ने चिन्ताले सताउन थालेको छ ।

भगवतिमाई गाउँपालिका वडा नः २ कै डिल बहादुर बोहराले रोजगारी गुमाएर घर फर्केको ३ महिना बढी हुँदा पनि गाउँमा कुनै काम नपाउँदा समस्या भएको बताए । उनले गाउँमा आएको बेला प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम चलाए पनि अहिले सबै कार्यक्रम बन्द हुँदा आफूहरू खाली बस्नु परेको बताए । उनले भने भारतमा काम गरी कमाएको रकम सकिन लाग्यो गाउँमा रोजगारीको कुनै सम्भावना छैन, परिवार पाल्ने कसरी हो सरकारले आफूहरूलाई कुनै काममा लगाएर रोजगारी दिनु पर्ने हो ।

दैलेखका ११ स्थानीय तहमा भारत लगायत तेस्रो मुलुक बाट घर फर्किने नागरिकको सङ्ख्या १६ हजार भन्दा बढी छ । जिल्लाका कुनै स्थानीय तहले चैतको महिना घर फर्कनेहरूलाई मुख्यमन्त्री रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रममा लगाएर केही दिन रोजगारी दिए पनि कार्यक्रम सकिए सँगै उनीहरूको रोजगारी पनि सकिएका कारण अहिले गाउँमा आएका नागरिकहरू रोजगारी नपाएर बस्नु परेको छ ।
जिल्लाका सबै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा युवाहरूलाई रोजगारी र उत्पादनमा जोड दिन बताए पनि कोरोना महामारीका कारण कुनै काम अगाडी बढ्न नसकेको स्थानीय तहका प्रमुखहरूले बताएका छन् ।

भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले भारत बाट आएका र गाउँमै रहेका बेरोजगार युवाहरूको तथ्याङ्क संकलन गरेर युवाहरूलाई उत्पादनमा जोड्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । उनले गाउँपालिकाले युवाहरूलाई रोजगारी दिनका लागि श्रम बैकको अवधारण अघि बढाएर यो आर्थिक वर्षमा ३ सय भन्दा बढिलाई रोजगारी दिएको बताउँदै बाँकी रहेको युवाहरूलाई समेत रोजगारीमा जोडिने बताए
नौमुले गाउँपालिकाका वडा नः १ का चन्द्रबहादुर रानाले नेपालमा ठुला उद्योग धन्दा पनि छैनन् कृषि गर्नका लागि पनि समयमा मल, बिउ नपाउने जस्ता समस्यामा कारण पनि कृषिमा युवाहरू जोडिन नसकेको बताए । उनले आफूहरू उत्पादनमा जोडिन तयार भए पनि युवाहरूलाई सरकारले आवश्यक पर्ने सिप,प्रविधि सहयोग गर्नु पर्ने बताए । उनले भने आफूहरू भारतमा जस्ता सुकै काम गर्न तयार हुनेले आफ्नै गाउँमा राम्रो आम्दानी हुने भए पनि किन जाने भन्दै उल्टै प्रश्न समेत गरे ।