उत्कृष्ट किसान,सहकारी र समूह पुरस्कृत
दैलेख : दैलेख जिल्लाका ११ स्थानीय तहका विभिन्न व्यवसाय गरेका उत्कृष्ट किसान,सहकारी र समूहलाई पुरस्कृत गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले मुख्यमन्त्री उत्कृष्ट कृषक प्रोत्साहन र कृषक प्रोत्साहन कार्यक्रम अन्तरगत विभिन्न विद्याका उत्कृष्ट व्यवसाय गरेका किसान,सहकारी,समूहलाई पुरस्कृत गरेको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीम बहादुर विष्टले ११ स्थानीय तहमा भैसीपालन,लोकल कुखुरा पालन,बाख्रा पालन व्यवसाय गरेका किसानहरू सहकारी र समूहलाई सम्मान गरिएको बताए । उनले सहकारी तर्फ समाज विकास सहकारी महावु गाउँपालिका,समूह तर्फ मझुवा भैँसी कृषक समूह भैरवी गाउँपालिकालाई सम्मान गरिएको र सहकारीलाई ५० हजार समूहलाई ३५ हजार र उत्कृष्ट किसान पुरुष तर्फ सुमन एग्रोफर्म र सिंह बाख्रा फर्मलाई महिला तर्फ सिंह बाख्रा फर्मलाई २५ हजारका दरले सम्मान गरिएको जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले व्यावसायिक रूपमा बाख्रा पालन,भैँसी पालन र कुखुरा पालन गरी आत्मनिर्भर किसानले राज्यले सम्मान गर्नु पर्ने बताए । उनले कोरोना भाइरसका कारण सहरमा रोजगारी गर्न गएका युवाहरू गाउँमा फर्केको भन्दै उनीहरूलाई रोक्न पनि यस्ता कार्यक्रमको आयोजना गर्नु पर्ने बताए । उनले तत्काल भारत लगायत तेस्रो मुलक बाट गाउँ आएको युवालाई रोजगारीको व्यवस्था गर्न सबै पालिकाहरूलाई पत्र पठाएको र युवाहरूलाई उत्पादनमा जोड्न सकेमा मात्र समृद्धि प्राप्त गर्न सकिनेमा जोड दिए ।
उत्कृष्ट महिला तर्फ बाख्रा पालन व्यवसाय गरेकी चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी सिता शाहीले आफूले सम्मान पाउँदा अझै व्यावसायिक रूपमा काम गर्न आत्मबल बढेको बताईन । उनले आफ्नो सिंह बाख्रा फर्मलाई प्रदेशकै उत्कृष्ट बनाउन लागेको बाख्रो स्रोत केन्द्रका रूपमा विकास गर्ने बताईन ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रशासन प्रमुख उदय खड्काले प्रत्येक गाउँपालिका तथा नगरपालिकाले आफ्नो गाउँपालिका तथा नगरपालिकामा व्यावसायिक रूपमा विभिन्न व्यवसाय गरेको भनी सिफारिस गरेपछि त्यसमा पनि उत्कृष्ट लाई छानेर सम्मान गरेको जानकारी दिए ।