Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सङ्क्रमित भेटिएका क्षेत्रका बासिन्दाको स्वाब संकलन


दैलेख :  ट्राभल हिष्ट्रि नभएका दैलेखका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित भएका व्यक्ति बस्ने समुदायका नागरिकको स्वाब संकलन सुरु गरिएको छ । स्थानीय सरकारले निर्माण गरेका क्वारेनटाइनमा राखेका भारतबाट घर फर्किएका व्यक्तिको सुरक्षार्थ खटिएका सुरक्षा कर्मी स्वास्थ्यकर्मी र कर्मचारी, जनप्रतिनिधि समेत कोरोना सङ्क्रमण देखिएका स्थानका समुदायमा बस्नेहरूको स्वाब संकलन सुरु गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले ट्राभल हिष्ट्रि नभएका २ जना जनप्रतिनिधि ६ जना स्वास्थ्यकर्मी १४ जना नेपाल प्रहरी २८ जना सशस्त्र प्रहरी ८ जना शिक्षक कर्मचारी र सञ्चार कर्मी ४ जना नेपाल आर्मी गरी ६२ जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य स्थानीयको स्वाब संकलन गरी परीक्षण सुरु गरेको बताए । उनले भने कोरोना दोस्रो चरणमा पक्कै गएको छ तर त्यही अनुसार सङ्क्रमित व्यक्ति भएको स्थानका ४० जना भन्दा बढिको स्वाब संकलन गरेर परीक्षण गरेका छौ उनीहरुमा कोरोना सङ्क्रमण नभएको रिर्पोट आएको छ अन्य स्थानको पनि स्वाब संकलन गर्ने तयारीमा छौ ।

नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा संयोजक नगेन्द्र हमालले शनिवार मात्र नारायण नगरपालिका दैलेखका वडा नः ६ का ४० जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा कुनैमा पनि कोरोना सङ्क्रमण नदेखिएको र अन्य जोखिमको सम्भावित वडामा पनि नमुनाका रूपमा स्वाब संकलन गर्ने तयारी गरेको जानकारी दिए । कर्णाली प्रदेशमा सबभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएको दैलेख जिल्लामा पछिल्लो समय पीसीआर परीक्षणको दायरा समेत बढाइएको छ । एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने कोरोना फोकल पर्सन रेग्मीले बताए ।

भगवतिमाई गाउँपालिका दैलेखले पनि गाउँपालिकाका ७ वटै वडाका ७० जना र कर्मचारीको समेत कोरोना परीक्षण गरेको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले कोरोना समुदायमा फैलिएको वा नफैलिएको विषयमा जानकारी लिनका लागि प्रत्येक वडाका १० जनाको स्वाब संकलन गरेको बताए । उनले प्रत्येक वडाका वडा अध्यक्ष लाई समुदायमा बढी खटिने व्यक्तिहरू छानेर पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको जानकारी दिए ।