Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एकता महाधिबेशन मंसिरमा गर्ने प्रधामन्त्रीको प्रस्ताव

काठमाडौं :  प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको सचिवालय बैठकमा नयाँ प्रस्ताव पेश गरेका छन्। पार्टीभित्रको विवाद समाधानतर्फ गइरहेको बताइरहेका बेला प्रधानमन्त्री ओलीले यही मंसिरमा पार्टीको एकता महाधिवेशन प्रस्ताव अघि सारेका हुन्।

पार्टीको विवादका क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले दुईमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि ओलीले नयाँ प्रस्ताव ल्याएका हुन्। उनले पार्टीको एकता बचाइराखेर अघि बढ्न एकता महाधिवेशन चाँडो गर्ने गरी नयाँ प्रस्ताव अघि सारेका स्रोतले जनाएको छ। तर अन्य नेताहरुले भने प्रस्ताव सकारात्मक भए पनि लिखितरुपमा आएको अवस्थामा मात्रै मान्‍न सकिने बताएका थिए। उनीहरुले यसअघि पनि प्रधानमन्त्रीले प्रस्ताव गर्दै धोका दिने गरेकाले लिखितरुपमै प्रस्ताव आएमा मात्रै सोच्न सकिने बताएका थिए।

दाहाल-नेपाल र ओली दुवै पक्ष अडानबाट टसमस नभएको अवस्था शुक्रबार र शनिबार भएको छलफलले विवादको निकास निकालेको अनुमान गरिएको छ। तत्काललाई ओलीले सरकारको नेतृत्व सम्हाल्ने र अध्यक्ष दाहालले पार्टीको पूरै कमाण्ड सम्हाल्ने गरी कुरा मिलेको अनुमान छ।