Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

प्रविधि नहुँदा कार्यान्वयन भएन निर्देशिका


दैलेख : कोरोना महामारीका कारण अवरुद्ध भएको पठनपाठनलाई अगाडी बढाउन सरकारले वैकल्पिक प्रणाली बाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ प्रविधि नहुँदा कार्यान्वयन गर्न समस्या भएको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण भएपछि सरकारले गत चैत ११ देखि लकडाउन गरेपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न र विद्यार्थीको सिकाई लाई निरन्तरता दिन शिक्षा मन्त्रालयले निर्देशिका जारी गरेपछि पहाडी जिल्लामा त्यस अनुसारको सिकाई प्रणाली अगाडी बढ्न नसेकेको पाइएको छ ।
शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकामा प्रविधि भन्नाले सिकाइमा प्रयोग आउने रेडियो टेलिभिजन,अनलाइन भनिएको भए पनि भूगोलका कारण ती प्रविधि मार्फत विद्यार्थीको पहुँचमा पुग्न नसकेका कारण शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका समेत अन्योलमा परेको छ । सरकारले विद्यार्थीको सिकाई सहजीकरण गर्न निर्देशिका जारी गरेपछि जिल्लाको एक क्याम्पस बाहेक अन्यमा लागु नभएको शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालले जानकारी दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेज बहादुर थापाले सरकारले कुनै पनि बालबालिकाको पढाई नरोकियोस् र निरन्तरता पाओस् भनेर निर्देशिका नै जारी गरे पनि पहाडी जिल्लामा निर्देशिका कार्यान्वयन गराउन नै समस्या भएको बताए । उनले हामीले विद्यालयलाई भन्ने हो विद्यालयले इमेल इन्टरनेट र अन्य उपकरणको व्यवस्था नभएका कारण पढाई लाई निरन्तरता दिन नसकेको आफूलाई जानकारी दिएको बताए ।
उनले भने सबै साधन स्रोत पर्याप्त भएको जिल्लाको सदरमुकाममा रहेको विद्यालयमा समेत उक्त निर्देशिका कार्यान्वयन गर्न सकेका छैनौ । अर्को कुरा हाम्रा विद्यालयमा क्वारेनटाइन निर्माण गरेका कारण पनि हामीले समयमै पाठ्यपुस्तक वितरण गर्न समस्या भए पनि सबै पालिकाहरूमा पाठ्यपुस्तक पुगेको र विद्यार्थीलाई स्वअध्ययन गर्न लगाएको छौ ।
नारायण नगरपालिका दैलेखका शिक्षा तथा खेलकुद शाखाका प्रमुख हिमालय शाहले सरकारले निर्देशिका जारी गरे पनि नगरपालिकाका विद्यालय क्वारेनटाइनमा भरिएका कारण समस्या भएको बताए । उनले प्रविधि अभावका कारण पनि हामीले अनलाइन तथा जोम बाट अध्यापन गर्न नसकेपछि विद्यार्थीलाई स्वअध्ययन गर्न स्वअध्ययन सामग्री छपाई गरेर वितरण गरेको जानकारी दिए ।
दैलेखको दुल्लु नगरपालिका–११ को भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक चित्रबहादुर थापाले सरकारले तोकेका पाँच वटै प्रविधि विद्यार्थी सँग नभएका कारण समस्या भएको बताए । उनले हरेक विद्यार्थीको घरमा रेडियो छैन, भए पनि जिल्लाको रेडियो बत्ती नहुँदा बन्द हुन्छ। टिभी पनि एकाधबाहेक धेरैको पहुँचमा छैन, इन्टरनेट त परैको कुरा हो त्यसले सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन नभएको बताए ।