बाँझो जमिनको सदुपयोग गर्दै गाउँपालिका
दैलेख : जिल्लाको भगवतिमाई गाउँपालिकाले गाउँपालिकाका ७ वटै वडामा रहेको बाँझा जमिनमा उत्पादन गर्ने अभियान अनुसार यो वर्ष २६ स्थानमा विभिन्न खेती सुरु गरेको छ । बाँझो जमिनको सदुपयोग गरी उत्पादन गर्ने अभियान अन्तर्गत यो आर्थिक वर्षमा २६ स्थानमा डाँलेघाँस,फलफूलका बिरुवा,कोदो सिमी, लगायतको खेती सुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाले बाँझो जमिनको तथ्याङ्क संकलन गरेर गाउँपालिकाले उक्त जग्गा लिने र युवाहरूलाई रोजगारी सँगै उत्पादनमा जोड्न यो अभियान सुरु गरेको बताए । उनले गाउँपालिकाका कसैले पनि आफ्नो जग्गा नसक्ने निहुँमा बाँझो छोड्नु भएन यही छोड्ने भए गाउँपालिकाको नाममा जग्गा पास गरिदिए गाउँपालिका आफैले उक्त जग्गाको सदुपयोग गर्दै उत्पादन गर्ने बताए । उनले भन्नुभयो बाँझो जमिनको सदुपयोग गरी उत्पादन भएका सबै खाद्य तथा फलफूलहरू गाउँपालिकाले खरिद गर्ने,किसानले आफै बिक्री गर्छु भनेको खण्डमा त्यसको भाँडा बेहोर्ने काम गाउँपालिकाले गर्ने छ ।
बाँझो जमिनको सदुपयोग गर्नका लागि गाउँपालिकाको वडा नः ६ चिपिनमा पौरखी सहरकारी संस्थाले २ सय रोपनीमा विभिन्न खेती सुरु गरेको छ । वडामा रहेको २ सय रोपनी जमिनमा कोदो,सिमी,विभिन्न प्रकारका फलफूलहरू लगाइएको हो । पौरखी सहकारी संस्थाका अध्यक्ष गणेश रोकायले गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्दै उत्पादन गर्ने नीति अनुसार सहकारीको सहयोगमा २ सय रोपनी जमिनमा तरकारी खेती लगाइएको बताए । उनले बाँझो जमिनमा उत्पादनमा भएको तरकारी सिधै गाउँपालिकाले खरिद गर्ने भनेपछि सहरकारीले उत्पादन गर्न लागेको बताए । किसानहरूले समूहगत रूपमा बाँझो जमिनमा लगाएका विभिन्न तरकारी, फलफूल र लोपोन्मुख बाली उत्पादन गर्ने तयारी गरेको तयारी गरिएको छ ।