Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

२७ महिनामा नेतृत्व पाए कर्णालीका ‘मिनी संसद्’ले


सुर्खेत  :  कर्णाली प्रदेश सभामार्फत गठन गरिएका संसदीय समितिहरूले करिब साढे दुई वर्षपछि नेतृत्व पाएका छन् । ‘मिनी संसद्’को रूपमा चिनिने संसदीय समिति गठन भएको २७ महिनापछि आइतबार नेतृत्व पाएका हुन् । यसअघि यी समितिहरूको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका थिए ।

२६ चैत ०७५ मा कर्णाली प्रदेश सभा बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समितिसहित चारवटा समिति गठन गरेको थियो । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीचको सहमतिका आधारमा आइतबार समितिको नेतृत्व निर्विरोध चयन भएको हो ।

प्रदेश सभाको प्रमुख प्रतिपक्षी कांग्रेसले सार्वजनिक लेखा समितिको नेतृत्व पाएको छ भने बाँकी तीन समितिमा नेकपाका सांसदहरू अध्यक्षमा निर्विरोध चयन भएका छन् । प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार, सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिमा गणेशप्रसाद सिंह र सामाजिक विकास समितिमा देवी ओली अध्यक्ष भएका छन् ।

नवनिर्वाचित समितिका अध्यक्षहरूलाई सभामुख राजबहादुर शाहीले आइतबार शपथग्रहण गराएका छन् । शपथग्रहण गर्दै नवनिर्वाचित अध्यक्षहरूले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सामाजिक विकास समितिको अध्यक्ष देवी ओलीले कर्णालीको शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारसँग मिलेर काम गर्ने बताइन् ।

error: Content is protected !!