दुई भन्दा बढि सिमकार्ड निकाल्न नपाईने
काठमाडौ : एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो । प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो । प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराइसकिएको निर्देशक विजय रोयले जानकारी दिए ।
एकै व्यक्तिले जति पनि सिमकार्ड लिन पाउने विद्यमान व्यवस्थाका कारण भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी, जसलाई अवैध कल मानिन्छ) जस्ता गतिविधि नरोकिएको र यसले गर्दा सेवा प्रदायकले नै ठूलो रकम गुमाउनुपरेको प्राधिकरणले जनाएको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थामा फोन नम्बरको दुरुपयोग हुन सक्ने र एक व्यक्तिको सिमकार्ड अरूले प्रयोग गर्दा आउन सक्ने समस्यालाई ख्याल गरेर यस्तो निर्णय भएको रोयले जानकारी दिए नेपाल प्रहरीले पनि सिमकार्ड वितरणलाई व्यवस्थित गर्न प्राधिकरणलाई अनुरोध गरिरहेको थियो, उनले भने सबै हिसाबले सिमकार्ड दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको हो ।
अहिले एक व्यक्तिले कुनै एक दूरसञ्चार सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड लिएको भएमा त्यसबारे जानकारी गराउनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायकको नै रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी दुईभन्दा बढी सिमकार्ड लिएका व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने र सम्भव भएसम्म दुईवटामा मात्र सीमित गराउन अनुरोध गर्नुपर्ने निर्देशन सेवा प्रदायकलाई दिएको हो ।