एसईई नगर्ने सरकारको निर्णय
काठमाडौ : सरकारले यो वर्षको एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय लिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय पनि लिएको छ। मन्त्रिपरिषद्ले परीक्षा नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो। मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प सहित प्रस्ताव गएपछि मन्त्रिपरिषद्को बैठकले उत्तः निर्णय लिएको हो।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा माध्यमिक शिक्षासहित विभिन्न तहका परीक्षाबारे आएका तीन विकल्पबारे गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताएका थिए।