कर्णालीमा कोरोना संक्रमितको सख्या ५८७ पुग्यो
दैलेख : कर्णालीमा कोरोना सङ्क्रमितहरु थपिने क्रम द्रुत गतिमा बढिरहेको छ । शनिबार मात्रै ९८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ५८७ पुगेको छ । शुक्रबार कर्णालीमा १०० जना र बिहीबार ११४ जनामा सङ्क्रमण देखिएको थियो । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार दैलेखमा मात्रै ४६ जना सङ्क्रमित थप भएका छन् । यस्तै, सल्यानमा ३९ जना, सुर्खेतमा नौ र जाजरकोटमा तीन जना थप भएको मन्त्रालयले शनिबार अपरान्ह ४ः१५ मा जारी गरेको सूचनामा उल्लेख छ । डोल्पामा मृत्यु भएको एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि मन्त्रालयले गरेको छ । शनिबार थप भएका सङ्क्रमितमा पाँच महिना र १८ महिनाका शिशुसमेत छन् । दैलेखमा कुल सङ्क्रमितको संख्या ३५२ पुगेको छ । सुर्खेतमा ७१ जना, सल्यानमा ९२ जना र जाजरकोटमा चार पुगेको छ । यस्तै, कालीकोटमा २५, जुम्लामा २२, मुगुमा दुई र हुम्लामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।