प्रेमान्टेष्टी (कविता )
बिष्णुकुमार खड्का
माफ गर प्रिय
म तिम्रो प्रेमको आरनमा
आफै अंगार हुँदै
तिमीले फलाम पिटेर
हसिया बनाए जस्तै
खुडा खुकुरी बनाए जस्तै
कोदालो, बन्चरो आदि बनाए जस्तै
आफै आकारित भएकी थिए ।
।।।
दुनियाँका भव्य महलहरू बनाएर
तिनी मालिकहरूलाई जिम्मा लगाउदै
त्यहि महलमा प्रवेश गर्न
प्रतिबन्धित अछुतको
परिश्रम र पसिना बेचेर
आफ्नो झुपडीमा आगो बाल्दै गर्दा
तिम्रो मुटुको गगनचुम्बी महलमा
म आफै भित्रिएकी थिए
।।।
फाटेको टोपी र कमिज लगाएर
निधारका भाग्यरेखाहरू तुन्दै
फाटेका जिजिविषाहरू सदियौदेखि उन्दै
सहरका सुकिला मुकिलाहरूका,
कानूनका मस्यौदाकारहरूका,
न्यालयका न्यायमूर्तिहरूका,
कार्यालयका हाकिम साहेबहरूका,
समानता र वर्गविहिन समाजका
समाजवाद र साम्यवादका
घन्टौ भाषण सुनाउने नेतागणहरूका,
विश्व ज्ञानको भण्डार घोकाउने
गुरु गुरुआमा आदिहरूका,
कोट र दौरा सुरुवाल
चौबन्दी र फरिया सिलाउदै गर्दा
सियो र धागोले गाँसेको जस्तै
तिम्रो मन र मेरो मन
अनायासै आफै गासिएको थियो
।।।।
हो प्रिय,
भीमकाय ढुंगा कुँदेर
जंगलका काठ खोपेर
धातुमा सिल्प पगालेर
तिमीले बनाएको राधा कृष्णको जोडी
तिनका आभूषण र साजसज्जा
अनि कलात्मक गजुर र टुडालहरू
तिनमा सजिएका कलात्मक वास्तुकला
ढुंगालाई देउता बनाएर
पुजारीको जिम्मा दिदै गर्दा
त्यहि मन्दिरमा प्रवेशको निशेधज्ञा
सिरोपर गर्दै
बाहिर पेटीमै बसेर
उनै भगवानलाई भाक्दै
म तिम्रो पबित्र मन्दिरमा
मेरो मनको भगवान भेटाउन
हो,
म आफै पुगेकी थिए
।।।
माफ गर प्रिय
मलाई माफ गर
तिम्रो र मेरो सम्बन्धमा ग्रेटवाल
किन लगाउदैछन् यिनीहरू ?
म खुट्याउन सक्दिन
तिमि र म दुवै मानव जाति हौ
फेरी हाम्रो जात किन खोजिदैछ ?
म बुझ्न सक्दिन
तिम्रो र मेरो तन मन
आपसमा अन्तरघुलन भइसकेपछि
एक अर्कामा समर्पित भइसकेपछि
आफ्नै सुन्दर संसार बनाइसकेपछि
फेरी हाम्रो यो स्वर्ग किन नर्क बनाइन्छ ?
म पहिल्याउन सक्दिन
हो प्रिय ,
मैले नै आफै देखेकी हुँ
समानता र न्याय प्राप्तिको
त्यो भिषण युद्ध
मैले नै आफै पढेकी हुँ
संविधान र कानूनमा लेखिएको समानता,
छुवाछुत र जातभातको अन्त्यको घोषणा,
समावेशी र समाजबाद उन्मुख राज्य व्यवस्था
हो, मैले नै पढेकी हुँ
गुरु गुरुआमाहरूले पढाएका
मानवीय मुल्य र मान्यताका पाठहरू
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन
मैले नै परिक्षामा लेखेर उत्तीर्ण भएकी हुँ
जातीय विभेद र छुवाछुतको बारेमा निबन्ध
।।।
म ठम्याउन सक्दिन प्रिय
के यी सबै पाठहरू झुट थिए ?
के संविधान र कानूनका धाराहरू भ्रम थिए ?
के हाम्रो पुस्ताको क्रान्ति र बलिदान ढोंग थियो ?
के मानव अधिकार र सहअस्तित्व बनावटी थियो ?
के मेरो सरकार र न्यायलय निरिह नै छ त ?
यी र यस्तै यक्ष प्रश्नका आँधी बेहरीहरू
मेरा मनका तरेलीमा तरंगित भइरहेछन्
आक्रोशका ज्वालामुखीहरू
पल पल विष्फोटन भइरहेछन
बिद्रोहका बारुदहरू
आफ्नै मनका बंकरहरूमा
आत्मघाती भएर घरिघरि पड्किरहेछन
म तेर्स्याउछु आफैतिर
त्यो आदर्शको बन्दुक र
पड्काउछु आफ्नै व्यवहारमा
सारा दुनियाँलाई साक्षी राखेर
प्रेमको बलिदान गर्ने
प्रेमिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै
सम्मानको सलामी सहित
चन्द्र सुर्य र ताराहरूलाई सुनाउदै
जुनी जुनी संगै जिउने कसमको
दागबत्ती दिएर
तिम्रै प्रेमको बरखी बार्दै
मेरो पवित्र प्रेमको अन्त्यष्टिमा सामेल
सम्पूर्ण प्रेमालामीहरू हो
कान खोलेर सून
अब उप्रान्त कुनै बहानामा
प्रेमको पवित्र मन्दिरमा
प्रेमिहरूको बली नचढाउनु
प्रेमालामीहरू रमिते नबन्नु
न्यायको फासी नचढाउनु …