Loading... आजः आइतवार, मंसिर ३०, २०८१
Trending

दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री थापा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताएका छन् । घटनाबारे प्रतिनिधी सभामा मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए । सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई भगाउनका लागि गएको भन्ने खुलेको उनले बताए ।
मन्त्री थापाले भने,‘घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको छ । त्यो समितिको कुनै औचित्य छैन । सरकारले घटना छानबिनका लागि समिति बनाएको छ । जिल्लामा बनाइएको समिति घटना ढाकछोप गर्नका लागि समेत बनाइएको हुन सक्ने भएकाले त्यसको कुनै औचित्य नहुने र सरकार कुनै पनि हालतमा दोषीलाई कारवाही गर्न प्रतिवद्ध रहेको उनले बताए । गएको शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवालाई साथ रुकुमको चौरजहारी पुगेका थिए । तर गाँउ पुगेलगत्तै उनीहरुलाई केटीका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेपछि नवराजसहित तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् ।