Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

पार्टी एकताको ऐतिहासिकता र हाम्रो जिम्मेवारी

शंकर पोखरेल
आज नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) का बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको दुई वर्ष भयो । दुई भिन्न कार्यदिशा बोकेका र कतिपय अवस्थामा शत्रुतापूर्ण देखिने अन्तरविरोधको शिकार भएका पार्टीहरु बीचको एकतालाई अघि बढाउनु र सफल बनाउनु निकै कठिन र चुनौतीपूर्ण काम हो । बाह्रबुँदे सहमति, शान्ति सम्झौता, संविधान निर्माण र एउटै घोषणापत्रका आधारमा चुनावी गठवन्धन जस्ता सहकार्यकका श्रृंखलाले पार्टी एकताको आधार तयार गर्न सहयोग पुगेको हो । तर, प्रमुख रुपमा तात्कालिक नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आँट र पहलका कारणले एकिकरणको काम अघि बढ्न पुगेको थियो । पार्टी एकता भविष्य निर्माणका सन्दर्भमा दुबै पार्टी एउटै सोंच र मान्यताको नजिक आएका कारणले पनि आवश्यक र सम्भव भएको थियो । पार्टी एकता गर्दा दुबै पार्टीका संवेदनशीलता र सवलपक्षलाई आत्मसात गर्न दुबै नेता तयार भएका कारणले पनि सहज भएको थियो । एकताका समयमा दुई अध्यक्षका बीचमा महाधिवेशनसम्म सहमतीका आधारमा अघि बढ्ने बलियो समझदारी समेत भएको थियो । तर, एकताको केही समयपछि पूर्वसमुह भित्रका अन्तरविरोध र स्वार्थ समुहको चलखेलका कारण दुई नेताको बीचको सम्वन्धमा समस्या देखियो ।
पछिल्लो समय पार्टीभित्र निकै असहज र असामान्य अवस्था समेत सिर्जना हुन पुग्यो । कार्यकर्ता पंक्तिसमेत विभाजित भएर सार्वजनिक बहसमा उत्रिएको अवस्था छ । पार्टी र जनसंगठनका जिम्मेवार नेताहरुसमेत समस्या समाधानका लागि अग्रसरता लिनु भन्दा विवादलाई तिव्र बनाउने काममा सकृय भएको अवस्था छ । शत्रुतापूर्ण ढंगले एक अर्काको विरोध गर्ने, मुख्य नेतृत्वलाई खुइल्याउने र सरकारमा रहेका र नहरेका बीचमा सरकारले गरेका कामका सन्दर्भमा आनका तान फरक विश्लेषण देखिने जस्ता कुराहरु द्वन्द्ववादी कुरा हुन् भनेर किमार्थ स्वीकार्न सकिँदैन ।

पार्टी एकतालाई सफल बनाएर पार्टीलाई सबल र सुदृढ बनाउने हो भने पूर्वसमुहका नाममा देखिएको मनोवैज्ञानिक विभाजनलाई छिटोभन्दा छिटो मेट्ने प्रयास गरिनु पर्दछ । इतिहासका प्रश्नमा अल्झनुभन्दा वर्तमानमा उभिएर भविष्यको बाटो कोर्ने काममा अग्रसर हुने हो भने धेरै समस्या हल गर्न सकिन्छ । आज नेकपाभित्र जुन प्रकारको समस्यालाई विधि र पद्दतिसँग जोडेर चर्चामा ल्याइए पनि त्यो मुलरुमा नेतृत्व बीचको असमझदारी, अविश्वास र त्यसको जगमा सुरु हुन खोजेको अनुचित शक्ति संघर्ष हो । त्यस अन्तरसंघर्षमा एकता प्रकृयाले सिर्जना गरेको विशेष अवस्था र उत्पन्न असन्तुष्टि र कुण्ठाले पनि काम गरेको छ । तर यो परिस्थित पार्टी एकताको भावना र पार्टी निर्माणका लागि अत्यन्त घातक छ । पार्टी एकताको रक्षा गर्ने हो र पार्टीलाई सबल र सुदृढ बनाउँदै समाजवाद निर्माणको बलियो यन्त्रका रुपमा पार्टीको विकास गर्ने हो भने अहिले उत्पन्न संकटको यथासिघ्र समाधान खोजिनु पर्दछ । सचिवालयको बैठकमा दुबै अध्यक्षहरुले आ-आफ्नो कार्यशैलीमा भएका कमजोरीहरुलाई सच्चाउँदै आगामी दिनमा सहमतिका आधारमा अघि बढ्ने जुन निश्कर्ष निकाल्नुभयो, त्यसमा उभिएर अघि बढ्न सक्नु पर्दछ । तर, सचिवालयको निर्णय स्थायी समितिमा पुग्न नपाउँदै नेतृत्व तहमा पुनः जुन प्रकारको असमझारी सिर्जना भयो त्यसमा केही हदसम्म मुख्य नेतृत्व नै जिम्मेवार रहेको भएपनि प्रमुख रुपमा स्थायी समितिका केही कमरेडहरुको अनुचित ढिपीले काम गरेको छ । तर, पछिल्लो समय प्रमुख नेतृत्वले देखाएको समझदारीले पुनः परिस्थित संग्लिँदै गएको देखिन्छ ।

पार्टी एकतालाई सफल बनाएर पार्टीलाई सबल र सुदृढ बनाउने हो भने पूर्वसमुहका नाममा देखिएको मनोवैज्ञानिक विभाजनलाई छिटोभन्दा छिटो मेट्ने प्रयास गरिनु पर्दछ । इतिहासका प्रश्नमा अल्झनुभन्दा वर्तमानमा उभिएर भविष्यको बाटो कोर्ने काममा अग्रसर हुने हो भने धेरै समस्या हल गर्न सकिन्छ । जनताको नजरमा अहिलेको सरकारको सफलता नेकपाको भविष्यसंग जोडिएको छ । सरकारलाई कमजोर बनाएर पार्टी बलियो हुन सक्तैन । सरकारमा हुने र नहुनेको पार्टी र सरकारको कामको समीक्षा गर्ने दृष्टिकोण दुई थरी हुनुहुँदैन । किनकि सत्यता स्थापनाको मार्क्सवादी पद्दती एउटै हुन्छ ।

अर्कोतिर पार्टी एकताका बाँकी काम सम्पन्न गरेर जति छिटो भविष्यको वैचारिक राजनीतिक प्रश्न र संगठनात्मक प्रणालीकको बहसमा केन्द्रीत हुन्छ त्यति छिटो पार्टी पूर्व अन्तरविरोधबाट मुक्त हुन सफल हुन्छ । एकता महाधिवेशको तयारीमा पार्टीलाई अघि बढाउने कुरा यस सन्दर्भमा उचित देखिन्छ । तर, त्यसका लागि सदस्यता नवीकरणको कामलाई भने तिव्रता दिनुपर्ने हुन्छ । किनकि सदस्यता नविकरणको काम सम्पन्न नभई महाधिवेशनमा प्रवेश गर्न सकिँदैन । हामीले यतिबेला पार्टीको प्रमुख राजनीतिक कार्यदिशा आर्थिक सामाजिक विकास र रुपान्तरणका माध्यमबाट समाजवादको आधार तयार गर्ने कुरालाई आधार बनाएर अघि बढ्नु पर्दछ । नेकपाको मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य वर्तमान सरकारको सफलतासँग जोडिएको छ ।

नेकपाको नेतृत्वको सरकारलाई असफल हुने अनुमती र छुट दिन सकिँदैन । पार्टी र आन्दोलनको भविष्यसंग जोडिएको यस प्रश्नमा पार्टी र सरकार दुबै जिम्मेवार हुनु पर्दछ । कोरोना महामारीका कारणले पार्टी र सरकारका काम र प्राथमिकता दुवै प्रभावित भएका छन् । यतिबेला सबै मिलेर यो महामारीलाई सामना गर्ने काम गर्नु पर्छ । कोरोना महामारीको चुनौतीबाट बाहिर निस्कने बित्तिकै सरकार र पार्टीलाई तिव्र वेगमा निश्चित लक्षमा डोर्याउनु पर्ने हुन्छ । यतिबेला नेकपासंग अनुभवी, क्षमतावान तथा सकृय नेता र कार्यकर्ताको ठुलो पंक्ति छ । सबैलाई एकतावद्ध रुपमा परिचालित गर्न सक्ने हो भने नेकपाले गर्न नसक्ने कुरा केही छैन । सचिवालयको नेतृत्व गरिरहनु भएका नेताहरु विशेष गरी पार्टी अध्यक्षद्वय र वरिष्ठ नेताहरुले यस काममा अग्रसरता लिनु पर्दछ । सरकार र पार्टी कामका सन्दर्भमा कहाँ कस्ले प्रभावकारी भूमिका खेल्न सक्दछ, विश्लेषण गरेर जिम्मेवारीमा हेरफेर गर्न पनि सकिन्छ । तर, त्यो गुटगत आग्रह र पूर्वाग्रहका आधारमा भने होइन ।

विधिको कुरा गरिरहँदा भविष्यमा कस्तो प्रणाली र कार्यशैली स्थापित गर्ने कुरामा पनि यथोचित ध्यान दिन सक्नु पर्दछ । विगतका समुहगत आग्रहबाट माथि उठ्ने आग्रह गरिरहेको बेला अहिलेको अन्तरविरोधको प्रभाव पनि देखिनु हुँदैन । नेतृत्व अहिले नै त्यस प्रकारको निर्णय गर्ने अवस्थामा पुगि नसकेको भएर केही समय लिनु उचित हुन्छ । तर, लामो समय अहिलेको समस्यालाई राखिरहनु उचित हुँदैन ।पार्टी एकता समयको माग थियो र भविष्यको आवश्यकता हो । सहमतिका बेलामा एकताको महत्व देख्ने र विवादका बेलामा पश्चातापको अनुभूति गर्ने अवस्था राम्रो होइन । दुई ठूला भिन्नभिन्न कार्यदिशा बोकेका र नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नै इतिहास रचना गर्न सफल भएका पार्टी बीचको एकता सामान्य परिघटना होइन ।

हामीले पार्टी एकताको ऐतिहासिक जिम्मेवारी पुरा गरेर प्रतिकृयावादी शक्तिका सामु निकै ठुलो चुनौती खडा गर्ने काम गर्‍यो। तर, हामीले उनीहरुबाट हुनसक्ने प्रति(आक्रणको प्रतिरक्षाको योजना बनाउने काम गरेनौं । त्यस कुरामा एकताको विलम्व र अन्तरविरोधले पनि एकहदसम्म नकारात्मक असर पुर्यायो । अहिले हामीलाई त्यो अवस्थाबाट वाहिर निक्लेर चुनौतीलाई सामना गर्नेगरी अघि बढ्ने अवसर प्राप्त भएको छ ।

कोभिड(१९ माहामारीका विरुद्धको सरकारको रणनीति प्रभावकारी नै देखिएको छ । सरकारको नीति तथा कार्यक्रमका माध्यमबाट जनमतलाई सकारात्मक बनाउने अवसर पनि प्राप्त भएको छ । मंसिर ४ मा सचिवालय बैठकले दुई अध्यक्षका बीचमा स्पष्ट कार्यविभाजन पनि गरेको छ । त्यसलाई विश्वासका साथ अघि बढाउने काम गर्नु पर्दछ ।यतिबेला सरकारको नेतृत्व परिवर्तनको कुरा जनचाहना र परिस्थिति अनुकुल देखिंदैन । तर, सरकारलाई थप प्रभावकारी बनाउने उपाय भने खोज्नु जरुरी छ । पार्टीलाई पनि अहिलेको जस्तो तदर्थ रुपमा संचालन गर्ने कुरा उचित हुँदैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारको काममा केन्द्रीत हुने र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी भूमिका सहित पार्टी काममा केन्द्रीत हुने कुरा उचित हुन्छ ।

जहाँसम्म पार्टी र सरकारले गर्ने सबै महत्वपूर्ण निर्णयहरु दुबै अध्यक्षको सहमतीमा गर्ने काम गरिनु पर्दछ । यसका साथै दुबै काममा पार्टीका वरिष्ठ नेताहरुको सकृय सहभागीता सुनिश्चत गरिनु पर्दछ । सचिवालयले कोर अफदि लिडरसिपको भूमिकामा आफुलाई स्थापित गर्न सक्नु पर्दछ । सचिवालयले स्थायि समिति र केन्द्रीय समितिको विश्वास हरदम हासिल गर्न सक्नु पर्दछ । प्रमुख नेताहर कोभिड(१९को माहामारी रोकिएसंगै देशव्यापी रुपमा कार्यकर्ताका बीचमा पुग्ने योजना बनाउनु पर्दछ ।

नेकपाको सान्दर्भिकता विगतको समिक्षामा भन्दा भविष्यको योजनामा भेट्न सक्नु पर्दछ । त्यसका लागि पार्टीको सैद्धान्तिक तथा बैचारिक आधार बलियो बनाउने काम गर्नु पर्दछ । लक्ष र कार्ययोजना सही र सुस्पष्ट बनाउनु पर्ने हुन्छ । विश्व व्यवस्थामा आइरहेको परिवर्तनमा आधारित भएर राजनीतिक कार्यदिशालाई अघि बढाउनु पर्ने हुन्छ ।महाधिवेशन नीति, विधि र नेतृत्व निरुपण गर्ने वैधानिक फोरम हो । तर पहिलो एकता महाधिवेशन भएका कारणले महाधिवेशनको फोरममा प्रवेश गर्नुपूर्व हामीले धेरै गहिरो तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रमुख नेतृत्वका बीचमा गहिरो समझदारी र सम्वाद आवश्यक पर्दछ । यतिबेला मुख्य नेतृत्व समकालीन राजनीतिका प्रश्नहरुमा बढी अल्झनु परिरहेको अवस्थामा त्यसको पूर्वतयारीको काममा दोश्रो तहको नेतृत्वको टिमलाई जिम्मेवारी तोक्न सकिन्छ ।

केन्द्रीय कमिटीको बैठकले यो वर्षको अन्त्यसम्म महाधिवेश गर्ने निर्णय गरिसकेको अवस्थामा हामीसंग अल्मलिने समय छैन । एकताको आवश्यकता देख्ने तर एकताको पक्षमा वातावरण नबनाउने अराजक शैली किमार्थ उचित होइन । नेपाली समाज नै विभिन्न कारणले सामाजिक अराजकताको अवस्थामा प्रवेश गर्न लागिरहेको बेलामा त्यसलाई रोक्ने जिम्मेवारी पनि पार्टीको हो ।महाधिवेशनको तयारीसंगै सिंगो पार्टी त्यस दिशामा अग्रसर हुनुपर्दछ । समयले हामीलाई रोजेको अवश्य हो तर यसले हामीलाई पर्खेर बस्छ भन्ने होइन । कामबाट नै हामीले आफूलाई सिद्ध गर्नुपर्दछ र समयलाई पकडमा राख्न सक्नु पर्दछ । समयको गतिलाई समातेर हिँड्ने कुरा समाजवाद निर्माणको हाम्रो लक्षको सफलतासंग गाँसिएको कुरा हो । पार्टीको एकता र भविष्यलाई सुनिश्चित र सुरक्षित गर्ने कुरा हो । पार्टी एकताको दोश्रो वर्षगाँठका उपलक्षमा सबैलाई यस दिशामा अघि बढ्न आग्रह गर्दछु । (लेखक नेकपा स्थायी कमिटी सदस्य पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन्) साभार अनलाइन खवर

error: Content is protected !!