Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

कर्णाली प्रदेश सिल गरेपछि दैलेखका नाका पनि गरियो सिल

मेरो कर्णाली
दैलेख,बैशाख २४ गते ।

नेपालगन्जमा कोरोना सङ्क्रमण देखिएपछि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा छिर्ने सबै नाका एक हप्ता सिल गरे संगै दैलेख जिल्लाका सबै सीमा नाका पनि सिल गरिएको छ। सरकारले गरेको लकडाउनकै अवधिमा जिल्लामा करिब दुई हजार नागरिक दैलेख भित्रिएका छन् । नेपालगन्जमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै दैलेखमा विशेष कडाइ गरिएको छ । लकडाउनपछि नेपालगन्ज हुँदै धेरै व्यक्ति भित्रिएको भन्दै स्थानीय प्रशासनले कडाइ गरेको हो । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित देखिए पनि अहिले सम्म कर्णाली प्रदेशको कुनै जिल्लामा पनि कोरोना भाइरस सङ्क्रमित फेला नपरेपछि दैलेख जिल्लालाई पूर्ण रूपमा सिल गर्ने निर्णय गरिएको छ ।
हालसम्म कोरोना सङ्क्रमण नदेखिएको दैलेखलाई सुरक्षित राख्न जिल्ला सुरक्षा समितिको बैठकले सबै नाकाहरू सिल गर्ने निर्णय गरेको हो । दैलेख र सुर्खेतको सीमा क्षेत्र गुराँसे, दैलेख र जाजरकोटको सीमा क्षेत्र सुयता, सुदूरपश्चिम प्रदेशको अछाम जिल्लासँग सीमा जोडिएको आठबीस नगरपालिकाका कर्णाली, वाड लगायतका जिल्ला भित्रिने मुख्य नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । उनले जिल्ला भित्रिने सबै नाका सिल गरेर उच्च निगरानी बढाएको उनले जानकारी दिए । जिल्ला भित्रिने मुख्य नाकामा आवश्यकता अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जनाए । जिल्लामा ७ सय ६३ जनाको आरडीटी गरिएकोमा सबैको रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । कार्यालयका खोप अधिकृत थिर प्रसाद रेग्मीका अनुसार ९८ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।