Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

यार्सागुम्बा संकलनमा रोक लगाउँदा डोल्पावासीमा चिन्तित

मेरो कर्णाली
डोल्पा ,बैशाख २१
त्रिपुरासुन्दरी नगरपालिका–२ रसी गाउँका ज्ञानु बोहोरा केही दिन यता निकै चिन्तित छन्। नगरपालिकाको केन्द्र बगर बजारमा नयाँ घर बनाउँदै गरेका बोहोरालाई चिन्ता हुनुको कारण यार्सागुम्बा संकलनमा प्रतिबन्ध गरिनु हो। जिल्ला विपत व्यवस्थापन समितिले केहि दिनअघि मात्रै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको हो। कोरोना भाइरसको महामारी फैलिरहेका बेला हजार मान्छे भेला भएर यार्सागुम्बा संकलन गर्दा संक्रमण फैलन सक्ने भन्दै संकलनमा रोक लगाएको हो। ‘घरमा कसैको रोजगार छैन, परिवारको कमाइ भनेकै यार्सागुम्बा हो। यो वर्ष यार्सागुम्बा रोकियो। कसरी वर्षभरीका आधारभूत आवाश्यकाता पूरा गर्ने,’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘एक महिना यार्सागुम्बा टिप्यो भने केही नभए दुई लाखसम्म कमाई हुन्थ्यो। त्यसैल घरपरिवार पाल्ने, बच्चा पढाउने, चाडपर्व मनाउने, स्वास्थ्य उपचार गर्ने गरिन्थ्यो।’ त्यति मात्र नभई डोल्पालीहरु डोल्पा र डोल्पाबाहिरका बजार क्षेत्रमा घर घडेरी जोड्न पनि यार्सागुम्बाकै कमाई लगानी गर्छन्। यस गाउँका १०० घरधुरीको कमाई नै यार्सागुम्बा संकलन रहेको बताउँदै उनले संक्रमण फैलन नदिन बाहिरका मान्छेलाई रोकेर स्थानीयलाई संकलन गर्न दिनुपर्ने बताए। वडा नम्बर १ का चन्द्रप्रसाद बोहोरालाई पनि यार्सागुम्बा संकलनमा रोक लगाएको खबरले दुःखी बनाएको छ। पाँच सदस्यको परिवार भएका उनको आम्दानीको मुख्य स्रोतनै यार्सागुम्बा संकलन हो। संकलनमा रोक लगाइपछि उनलाई वर्षभरी कसरी खाद्यान्न किन्ने र कसरी बच्चा–बच्ची पढाउने भन्ने चिन्ता छ। रसी गाउँकी शान्तिकुमारी बोहोराले अघिल्लो वर्ष त्यति कमाई नभएकाले चामल, लत्ताकपडा किन्ने पैसा समेत नभएको बताइन्। उनले भनिन्, ‘डोल्पाली पाल्ने नै यार्सागुम्बा हो। सबैको रोजगारी भनेकै यार्सागुम्बा हो। यस वर्ष यार्सागुम्बा रोकिएकाले पैसाकै कारण डोल्पालीले धेरै दुःख पाउने भए।’ डोल्पाको त्रिपुरासुन्दरी, ठुलीभेरी नगरपालिका, मुड्केचुला, जगदुल्ला, शे–फोक्सुण्डो, काइके, डोल्पो बुद्ध, छार्काताङ्सोङ् गाउँपालिकाका प्रायः स्थानीयको आम्दानीको मुख्य स्रोत नै यार्सागुम्बा संकलन नै हो। यार्सागुम्बा सिजनमा डोल्पाको एउटै गाउँमा एक करोड रुपैयाँभन्दा धेरै कारोवार हुने गरेको यार्सा व्यापारीहरु बताउँछन्। व्यापार ब्यवसाय धरापमा यार्सागुम्बा संकलनमा रोक लगाउँदा डोल्पालीको वर्षभारीको आम्दानी मात्रै गुमेको छैन्। बजार क्षेत्रमा गरिएको व्यापार ब्यवसाय समेत धरापमा परेको छ। दुनै, त्रिपुराकोट, खदाङ्ग, लिकुलगायतका बजार क्षेत्रमा व्यापार ब्यवसाय गर्दै आएका व्यापारीहरु संकटमा परेका हुन्। ‘यार्सागुम्बा सिजन आउनुभन्दा एक महिनाअघि बैशाखदेखिनै होटेल तथा पसलहरुमा आर्थिक कारोबार सुरु हुन्थ्यो,’ त्रिपुराकोट बजारमा व्यापार गर्दै आएका रामबहादुर रानाले भने, ‘बैशाखदेखि जेठ पहिलो हप्तासम्म केही नभएर चार पाँच लाखको कारोबार हुन्थ्यो।’ यो सिजनमा लत्ताकपडा, नुन, तेल, चामल, चाउचाउ, बिस्कुटलगायतका सामान बढी मात्रामा बिक्री गर्ने रानाले बतए। तर यस वर्ष कारोबार शुन्य रहेको उनको भनाइ छ। जनप्रतिनिधि पनि चिन्तित यार्सागुम्बा संकलनमा रोक लगाइएपछि डोल्पाका जनप्रतिनिधि पनि चिन्तित छन्। सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा भएकाले यसमा रोक लगाइएसँगै उनीहरु चिन्तित भएका हुन्। त्रिपुरासुन्दरी नगरपालिका–१ का अध्यक्ष कर्मसिँह थापाले डोल्पाली जनताको कमाउने माध्यमनै यार्सागुम्बालगायतका जडिबुटी संकलन भएको बताउँछन्। तर, कोरोना भाइरसका कारण बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष थापाले बताए। यो वर्ष डोल्पालीले आम्दानी गर्न नपाउने भएकाले जनतालाई खाद्य संकट पर्ने अध्यक्ष थापा बताउँछन्। यता जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले डोल्पावासीको आर्थिक उपार्जनको मुख्य स्रोतनै यार्सागुम्बा भएकाले केही दिनपछि पुनः एक पटक जिल्लाका सरोकारवाला निकायसँग छलफल गरेर खुल्ने–नखुल्ने टुङ्गो लगाउने बताए।

error: Content is protected !!