Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया अघि बढाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको प्रस्तावलाई अगाडि बढाइने भएको छ।

संसद्को तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं प्रमुख प्रतिपक्ष दलकी वरिष्ठ नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइने बताएकी छिन्।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाब दिएको ट्रम्पमाथि आरोप लागेको छ।

ट्रम्पले शक्तिको दुरुपयोग गरे नगरेको बारे सुनुवाई गर्न महाअभियोगको प्रक्रिया थालिने सभामुख पेलेसीले बताएकी हुन्।

अमेरिकी संसद्को तल्लो सदनमा महाअभियोगको प्रस्ताव पेस भएपछि संसद्को माथिल्लो सदन सिनेटमा प्रवेश पाउनेछ।

सभामुख पेलेसीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकाको प्रजातन्त्र दाउमा रहेको बताइन्। उनले राष्ट्रपति ट्रम्पपिरुद्ध महाअभियोगबाहेक अन्य विकल्प नभएको बताएकी छिन्।

उनले राष्ट्रपतिलाई कुनै व्यक्तिगत रोष तथा घृणाका कारण दोष लगाउन नखोजेको बताएकी छिन्। महाअभियोगका धारा मस्यौदाअनुसार अघि बढ्नका लागि दुवै समितिका अध्यक्षलाई उनले आग्रह गरेकी छिन्।

प्रतिनिधिसभामा ट्रम्पविरुद्धको महाअभियोगमाथि यसै वर्षभित्र सुनुवाई हुने ठानिएको छ।

राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक नेताहरूले मानसिक सन्तुलन गुमाएको भन्दै महाअभियोगको मुद्दा चाँडो टुङ्गो लगाएर देशको मुद्दामा केन्द्रित हुन आग्रह गरेका छन्।Nepalnews