Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

मोदीले समय नदिँदा माधव नेपालको भारत भ्रमण रोकियो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

केही समय अघि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी गरेका थिए ।

भेटघाटकालागि दुवै देशका परराष्ट्रमन्त्रालय मार्फत समन्वय भइरहेको छ । तर, प्रधानमन्त्री मोदीको समय नमिलेका कारण नेता नेपालको दिल्ली भ्रमण रोकिएको ब्रिफिङ नेकपाको सचिवालय बैठकमा गरिएको छ ।
बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा यसबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालले पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका थिए ।

‘सीमा विवादका विषयमा सिधा छलफल गर्न प्रधानमन्त्री ओलीले माधव नेपाललाई भारत पठाउने निर्णय गर्नुभएको हो । नेपालले आफू जाने तयारी गर्नुभएको छ,’ ती नेताले भने, ‘तर, भारतीय प्रधानमन्त्री मोदीको भेट्ने समय मिलिसकेको छैन । उहाँको समय मिलाउने प्रयास भइरहेको छ । उताबाट समय मिले लगत्तै उहाँ दिल्ली जानुहुन्छ ।’

नेपाल–भारत सीमा समस्यामा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री ओलीले कार्त्तिक २३ गते सर्वदलिय बैठक बोलाएका थिए । बैठकमा सीमा विवादलाई कुटनीतिक तवरले हल गरिनुपर्ने नेताहरुले सुझाव दिएका थिए । त्यहि निर्णय अनुरुप प्रधानमन्त्रीले नेता नेपाललाई सिधा संवादका लागि दिल्ली पठाउने निर्णय गरेका थिए । तर प्रधानमन्त्री आफैं अस्वस्थ र मोदीले भेट्ने समय नमिलाएपछि नेता नेपालको भ्रमण रोकिएको हो ।

सीमा विवाद चर्किएपछि त्यसलाई लिएर भारत र नेपालका पूर्वपरराष्ट्रसचिवहरूले कडा प्रकृतिका अभिव्यक्तिहरू पनि सार्वजनिक गरिरहेका छन् ।