Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लियो : एनपी साउँद

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एनपी साउँदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दाबी गर्दै आपत्ति जनाएका छन् ।

कांग्रेस नेता साउँदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्चिन पनि सत्तारुढ नेकपासँग माग गरे ।
नेपालको संविधान, कानुन विपरितको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको नेता साउँदको भनाई छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिएर सत्तारुढ नेकपाले सत्ता कब्जाको अभ्यास गरेको विषयलाई हामीले गम्भीर आलोचनाको विषयको रुपमा लिएका छौं,’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस नेता साउँदको भनाई थियो, ‘त्यसकारण सत्तारुढ नेकपा सच्चिनु पर्छ र दुई पार्टीबीच गरिएको सहमतिको सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’नेता साउँदले दुई पार्टीबीचको सम्बन्धले राष्ट्रलाई नोक्सान पुर्‍याउन नहुने पनि बताए ।

यता, सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले भने चिनियाँ नेताहरुले ‘सी विचारधारा’ मान्न आफूहरुलाई कुनै दवाव नदिएको स्पष्टिकरण दिएका थिए । उनले बरु नेपालका कम्युनिष्ट पार्टीहरुले बेलायत, अमेरिका मोडलको लोकतन्त्रको अभ्यास गरिरहेकोतर्फ पनि कांग्रेस नेताहरुको ध्यानाकर्षण गराए ।

नेता पौडेलले लोकतन्त्रको सच्चा हिमायती आफ्नो पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परेको भनेर कुनै पनि राजनीतिक दलले भन्न नमिल्ने तर्क समेत गरे ।

बाह्रखरी