Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

‘संविधान जनताको संघर्षको प्रतिक हो, यसले जनमनमा उत्साह भर्नुपर्छ’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधान दिवस’ जनताको संघर्षको प्रतिक भएको बताएका छन्। संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा शुक्रबारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले जनताको ७ दशकको संघर्षबाट संविधान निर्माण भएको बताएका हुन्। जनताले आफ्ना प्रतिनिधिले लेखेको संविधान बनेको दिनलाई दिवसका रूपमा मनाएको प्रधानमन्त्रीको भनाइ थियो। उनले भने, ‘यस दिवसले औपचारिकता निभाउने मात्रै होइन प्रत्येक नेपालीको मनमा उत्साह भर्नुपर्दछ।’ प्रधानमन्त्री ओलीले संविधान दिवस फगत तामझाम मात्रै नभएको बताए। उनले संविधान नेपालको आधुनिक इतिहासको महत्तवपूर्ण दस्तावेज र आधार भएको बताएका थिए। प्रधानमन्त्रीले संविधान आवश्यकताका आधारमा संशोधन हुने पनि बताए। उनले संविधानको कुन धारा, दफा वा भागमा के मिलेन भन्दा पनि कार्यान्वयनका क्रममा जहाँ बाधा आउँछ त्यो दिन संशोधन हुने बताए। ‘जुन बेला जे मिल्दैन त्यो सच्च्याउँदै अगाडि बढ्नुपर्छ। समृद्ध नेपाल सुखी नेपालीको अभियानमा पछि परेको नेपाललाई अगाडि बढाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व सम्हालेपछि उच्च आर्थिक वृद्धि भएको, आयात घटेको र निर्यात बढेको बताए। उनले भने, ‘संघीयता कार्यान्वयनको पहिलो चरणमा नै समृद्धिको दिशामा मुलुक अघि बढेको संकेत मिलेको छ।’ उनले राजश्व वृद्धि भएको र विकास निर्माणका कामले पनि तीव्रता पाएको बताए। भूकम्पले देश थिलथिलो भएको अवस्थामा संविधान जारी भए लगत्तै नाकाबन्दी लागेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मुलुकको अहिलेको अवस्था सकारात्मकतातर्फ गइरहेको बताएका हुन्। प्रधानमन्त्री ओलीले समाजमा चल्न खोजेका केही बहसहरूप्रति ध्यानाकर्षण गरेका छन्। उनले अनावश्यक विषयमा अनावश्यक रूपमा बहस भएको र त्यसमा युवाशक्ति अल्झिएकोमा असन्तुष्टि पोखेका छन्। उनले त्यस मार्गमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन्। विकास निर्माणका कामको तरिका फेर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीले काम देखाउनुपर्ने बताए। अबको केही समयमा नै राष्ट्रिय गौरवका योजना सम्पन्न गरिने प्रधानमन्त्रीको भनाइ थियो। उनले रसुवामा सुक्खा बन्दरगाह, काठमाडौं- तराई मधेस द्रुतमार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सम्पन्न हुनेदेखि लिएर फलाम खानी खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले अनावश्यक आलोचना नगर्न पनि आग्रह गरेका थिए। ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन्। संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने उनको भनाइ थियो। उनले भने, ‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ। जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ।’ कसैको पनि नाम नलिइकनै प्रधानमन्त्री ओलीले ‘राजनीतिको नाममा शान्ति, सुरक्षा र राष्ट्रिय एकता विपरीत काम भए सरकारले रोक्न बाध्य हुने’ चेतावनी पनि दिए। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो। संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

थाहा खबर बाट