Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

५ हजार दर्शक अटाउने रंगशाला निर्माण अलपत्र

बुटवल। प्रदेश नम्बर ५ सरकारले कपिलवस्तु जिल्लाको तौलिहवामा ५ हजार दर्शक अटाउने रंगशाला बनाउन थालेपनि जग्गा विवादले रोकिएको छ । कपिलवस्तु नगरपालिका र बुद्ध पद्म माविबीच आवाश्यक समन्वय नहुँदा रङ्गशाला निर्माण कार्य रोकिएको हो ।

विद्यालय व्यवस्थापन समितिको मौखिक सहमतिकै आधारमा रङ्गशाला निर्माण गर्न भन्दै नगरपालिकाले गत माघ महिनामा माटोको ल्याव परीक्षण समेत गरेको थियो । त्यसपछि रंगशाला ठेक्का समेत लगाएर माटो पाटने काम सुरु भएपनि थप काम अघि बढ्न सकेको छैन ।

५ नम्बर प्रदेश सरकारले रङगशाला निर्माण गर्न विनियोजन गरेको ७४ लाख रुपैयाँमध्ये ६० लाख रुपैयाँमा टेण्डर आह्वान गरेको थियो ।

जसमा १६ दशमलव ५ प्रतिशत घटेर कपिलबस्तुकै सप्तऋषि निर्माण सेवाले रंगशाला निर्माणको ठेक्का पाएको थियो । ठेक्का पाएपछि उसले निर्माणको प्रारम्भिक काम थालेपनि विचमा रोकिएको हो । कपिलबस्तु नगरपालिकाका ईन्जिनियर सुनिल केसीले ८ करोड रुपैयाँको लागतमा सुबिधा सम्पन्न रंगशाला निर्माण गर्न डीपीआर तयार गरी बहुबर्षे योजना अन्तर्गत काम थालिएपनि अहिले रोकिएको जानकारी दिए ।

किन रोकियो रङ्गशाला निर्माण ?
प्रदेश सरकारले यो बर्ष ७० लाख रुपैयाँ रंगशाला बनाउन छुट्टाएको थियो । बाँकी अन्य रकम नगरपालिकाले खर्च गर्ने योजना थियो । कपिलबस्तु नगरपालिकाका मेयर किरण सिंहले बिद्यालले शूरुमा जग्गा दिन सहमत भएपनि पछि नदिएको बताए । ‘टेण्डर भएपछि हामीले काम गर्न खोज्दा बिद्यालयले आफना माग राख्न थाल्यो । पहिला भनेअनुसार जग्गा दिन नसक्ने भन्दै अवरोध गरेपछि काम अघि बढ्न सकेन’ मेयर सिंहले बताए । उनले बिद्यालय ब्यवस्थापन समितिले रंगशाला बनाउन नदिने अडान राखेपछि काम रोक्न बाध्य भएको उनले बताए ।

हचुवाको भरमा सम्झौता हुदैन : विद्यालय
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आजाद खाँले बिद्यालय परिसरमा रङ्गशाला बनाउन आफुहरुले नदिएको भन्ने हल्ला वाहियात भएको बताए । उनले विद्यालयको जग्गामा रंगशाला बनेपछि भाडामा लगाईने सटरको भाडा रकममध्ये ६० प्रतिशत विद्यालयले पाउनुपर्ने बताए ।

‘रंङ्गशाला बनाउन बाधा पुर्याएको छैन । नगरपालिकाले रङ्गशाला निर्माणका लागि कति जग्गा चाहिएको हो भन्ने स्पष्ट पारेकै छैन । हामीलाई डीपीआर पनि दिइएको छैन । खाली हल्ला गरेर मात्र हुदैन । जग्गा व्यावस्थित रुपमा सम्झौता गर्न चाहन्छौ तर हचुवाको भरमा होइन’ व्यवस्थापन समितिका अध्यक्ष खाँले रातोपाटीलाई बताए ।

विद्यालयले बेइमानी गर्यो : नगरपालिका
तर, नगरपालिकाका मेयर सिंहले शुरुमा काम अघि बढाउँदा केही नगरेपनि अहिले नयाँ माग थप्दै गएको बताए । ‘माटो परीक्षण लगायत अन्य काम सुरु गर्दा बिरोध नगरेको बिद्यालयले अहिले पुरा गर्न नसिकने माग अघि सारेको छ ।

रङ्गशाला निर्माणको आशमा रहेका खेलाडीहरु भने निर्माण कार्य अवरुद्ध बनेपछि चिन्तित बनेका छन् । उनीहरुले नगरपालिका र बिद्यालयबिचको बिबादमा खेलाडीहरु परेको बताए ।

स्थानीय खेलाडी दिनेश हमालले पनि निर्माण अवरुद्ध हुँदा खेलाडीहरुलाई मार पर्ने बताए । रंगशाला निर्माण गरे जिल्लाको खेल क्षेत्रमा ठुृलै उपलब्धी हुने र आन्तरिक पर्यटक पर्वद्धनमा समेत सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । तर, नगरपालिका र बिद्यालयबिचको बिबादले रंगशाला निर्माणको काम अलपत्र पर्नुका साथै बजेट समेत फ्रिज भएको छ ।