Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

प्रदेश ५ मा कहालीलाग्दो सडक दुर्घटना !

 

८ वैशाख बुटवल, । प्रदेश पाँचमा सडक दुर्घटना र त्यसमा परी मृत्यु हुनेहरुको संख्या कहालीलाग्दो रहेको देखिएको छ । ट्राफिक कार्यालय बुटवलका प्रबक्ता माधवप्रसाद बुढाथोकीले उपलब्ध गराएको तत्थ्याङकअनुसार यस आर्थिक बर्षको पछिल्लो ९ महिनामा प्रदेशभर ९ सय ७१ वटा सवारी साधन दुर्घटना भएका छन् ।

ट्रक र बस गरी ७६ वटा, ट्रिपर ३० वटा, बस १८ वटा, माईक्रो १० वटा, जिप र कार १ सय २४ वटा, ट्याक्टर ७५ दुर्घटना भएका छन । त्यस्तै टेम्पो ४, मोटरसाईकल ४ सय ४४ वटा अन्य सवारी साधन ६४ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यी दुर्घटनामा परी ३ सय ८४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा पुरुष २ सय ८१ र महिला ६६ जना, बालक २२ र बालिका २५ रहेका छन् । गम्भीर घाइते भई ६ सय ४२ जना अंगभंग भएका छन् । ४ सय ८३ जना सामान्य घाइते भएका छन् । सडक दुर्घटनामा परेर चौपाय ३ वटा मरेका छन भने ६ सय ९६ सवारी साधनहरु क्षति भएका छन ।

यी थिए दुई ठुला पीडादायक दुर्घटना

सवारी दुर्घटनाका कहाली लाग्दा घटनाहरुलाई फर्केर नियाल्ने हो भने २०७५ सालको पछिल्लो ९ महिना प्रदेश पाँचका लागि निकै दुःखद साल बनेको छ । गत पुस ६ गते शनिवार दाङ्गको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । १४ जना घम्भीर घाईते भएका थिए । डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न सल्यान पुगेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालकदल सहित ३८ जना सवार नमस्ते राप्ती यातायात प्रालिको बा४ख ९७६६ नम्वरको बस घोराही उपमहानगरपालिका–१७ को राम्री भन्ने स्थानमामा दुर्घटना हुँदा त्यति नराम्रो हताहती भएको हो ।

ती मध्ये दुई जना विद्यार्थी आफ्नो घर सल्यानको कपुरकोट ओर्लेर बचेका थिए । घटनामा पर्नेहरुमा शिक्षक पदमप्रसाद घिमिरे, नरेश वली सहित एउटै जिल्ला जुम्लाका ११ जना तथा दाङ्गका ६ जना विद्यार्थी थिए । बाँकी अरु विभिन्न जिल्लाका थिए । ती सबै १६ देखि २२ बर्ष उमेरका कलिला युवाहरु थिए ।

प्राविधिक शिक्षा अध्ययन गरेपछि छिट्टै जागिर पाईने सपना बोकेर हिमाली जुम्ला, हुम्ला लगायतबाट आएका उनीहरुको सपना बस दुर्घटनाले चकनाचुर पारेको थियो । ती शिक्षक विद्यार्थीहरुले केहि दिन अघि मात्र खिचाएको सामुहिक तस्वीरहरु नै त्यस दुर्घटनाले अन्तिम सम्झना बनाइदिएको थियो ।

दाङ्ग मै अर्को दुर्घटना दर्दनाक

त्यसको एक महिना अघि मंसिर २७ गते विहिवार दाङ्गको लमहीमा अर्को एउटा कहालीलाग्दो सडक दुर्घटना भएको थियो । उक्त दुर्घटनाले गएका जन्तीलाई मलामी बनाएको थियो । लमही नगरपालिका–९ रिहार भन्ने स्थानमा चितवनको गितानगरबाट बेहुली लिएर आउँदै गर्दा बेहुलाका बाबु, आमा र उनका अन्य आफन्त चढेको स्कारपियो जिप दुर्घटना हुँदा जन्ती बनेर गएकाहरु बेहुलाको घर होइन, मलामी बनेर अन्त्येष्टिस्थल जानु परेको थियो ।

 

बाँकेको सोनारी गाउँपालिका–९ सम्शेरगञ्जका २७ बर्षिय यज्ञबहादुर केसीको विवाहको जन्ती थियो त्यो । बेहुली ल्याउन सम्शेरगञ्जबाट चितवनको गितानरस्थित अघिल्लो दिन विहान पुगेका उनीहरु साँझ बेहुली लक्ष्मी पौड्याललाई लिएर नाच्दै गाउँदै फर्किदै थिए ।

सो दुःखद दुर्घटनामा बेहुला बेहुली बेग्लै गाडीमा चढेकोले बँचेका थिए । तर अर्को गाडी चढेर दुलही पर्छिने ब्यवस्था मिलाउन अलि अगाडि हिँडेका बेहुलाका बाबु ५३ वर्षीय मनबहादुर केसी र उनकी धर्मपत्नी ४२ वर्षीया विमला केसीसहित ६ जनाको ज्यान गएको थियो ।

सोही घटनामा परेर उनकी ५ बर्षिया नातिनी, सम्शेरगञ्जकै ४९ बर्षिय विश्वनाथ अधिकारी, कोहलपुरका ७८ बर्षीय दत्तबहादुर खत्री र सम्शेरगञ्जका होनाहार युवा ३१ बर्षिय दीपकुकार खड्काको पनि ज्यान गएको थियो ।

पछिल्लो एक बर्ष याता यी दुई घटना प्रदेश पाँचका सबै भन्दा बढि कहालीलाग्दा घटना हुन् ।

 

नयाँ बर्षको मुखमा आई पुग्दा चैत्र २८ गते गुल्मीमा पनि अर्को दुःखद घटना घट्यो । मुसिकोट नगरपालिका १, च्याँनडाँडामा जीप दुर्घटनामा परी पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता रुद्रमणी शर्मा भण्डारीको ज्यान गयो । त्यस दुर्घटनामा एकै परिवारका ४ जना परे । मालिका गाउँपालिका ३ ह्वाङ्गदीका सुर्य थापा गम्भीर घाइते भए । उनकी श्रीमती कौशिला थापाको मृत्यु भयो । उनका दुई सन्तान समेत घाइते भए । चैते दशै मान्न मावलीमा हिँडेका नेटा गाउँका ८ बर्षिय ओशन बिकको पनि ज्यान गयो ।

बढ्दो सवारी साधन

प्रदेश ५ मा सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । साविकको लुम्विनी, भेरी र राप्ती अञ्चलको नम्वर प्लेटमा दर्ता भएका प्रदेश ५ मा कुल सवारी साधन संख्या ६ लाख ५५ हजार २ सय ८७ वटा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसरी दर्ता भएका सवारी साधनहरु मध्ये ट्रक र बस २१ हजार ५ सय ७५ वटा, जिप र कार २३ हजार २ सय १ वटा, ट्याक्टर ५२ हजार ५ सय ९० वटा र टेम्पो ६ हजार २ सय ४९ वटा छन् । त्यसका साथै, मोटरसाइकलको संख्या ५ लाख ५१ हजार ७ सय ९७ वटा रहेका छन् ।

नौ महिनाको अवधिभित्रमा १ लाख ६० हजार ५ सय ८७ सवारी साधन माथी कार्वाही गरेर प्रहरीले ९ करोड ४८ लाख ८७ हजार राजश्व संकलन गरेको छ ।

व्यस्त राजमार्ग र ‘टिपर आतंक’ हाम्रो लागि चुनौती हो: प्रदेश प्रहरी प्रमुख

 

प्रदेश पाँचका प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले दुर्घटना न्यूनीकरणका लागि व्यस्त राजमार्ग र टिपरको ‘आतंक’ चुनौतीको विषय बनेको बताए ।
चौबिसै घण्टा व्यस्त रहने पूर्वपश्चिम राजमार्गले अन्य प्रदेशमा भन्दा ३५ प्रतिशत ओगटेको बताउँदै अधिकारी भन्छन्, ‘त्यही ब्यस्त राजमार्गमा टिपरले जथभावी ओभरटेक गर्दा दुर्घटना निम्तिने गरेका छन् । यसलाई रोक्नु नै दुर्घटना न्यूनीकरणको लागि हाम्रो चुनौतीको बिषय बनेको छ ।’
पुर्वपश्चिम, उत्तर दक्षिण चारैतिकाको त्यति लामो रुट त्यति धेरै सवारी साधान तर ट्राफिक प्रहरी, जनपथ प्रहरीमा जनशक्ति र प्रविधीको कमी पनि दुर्घटना न्यूनीकरणका लागि चुनौती भएको उनको ठम्याइ छ ।
पहाडी जिल्लाबाट चुन ढुङ्गा असोर पसार, नदिजन्य वस्तुको दोहन र खुल्ला सिमानाबाट हुने चेरी पैठारी रोक्न मातहतका प्रहरीहरुलाई चुस्त ढंगले परिचालन गरिएको दावी गर्दै डिआईजी अधिकारीले त्यस विरुद्धको कार्वाहीबाट प्रहरीले विगतको तुलनामा यस आर्थिक बर्षमा उल्लेख्य राजश्व संकलन गरेको दावी समेत गरे ।