Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

‘दलाल पुँजीवाद’ कहाँ पुग्यो 

 

२६ चैत्र ,काठमाडौँ  । स्पेनिस भाषाको ‘कम्प्राडोर’बाट अन्य भाषा हुँदै नेपालीमा अनुदित भएकाले पनि हुनसक्छ, राजनीतिमा युवा अवस्थामै समाहित हुनेमध्ये धेरै नेपालीले पहिले ‘दलाल पुँजीवाद’को विरोध गर्न सिके । धेरैपछि मात्र यसको केही अर्थ बुझ्न थालेका हुन् । दलाल पुँजीवादको विरोध गरेरै राजनीति थालेकाहरूको अहिलेको सन्दर्भमा दलाल पुँजीवादसँगकै नाता–सम्बन्ध देख्दा उक्त अवधारणाको मर्म सम्बन्धित पात्रहरूले अहिले राम्रैसँग बुझेको प्रतीत हुन्छ ।

हुन त ‘गोर्खा भर्ती बन्द’ गर्नुपर्ने कुरा, ‘भारतसँगका असमान सन्धि खारेज’ गरिनुपर्ने कुरा अहिले कहाँ पुगेका छन् भनी तिनको हालको ठेगाना पत्ता लगाइयो भने दलाल पुँजीवाद पनि त्यतै कतै भेटिन सक्छ ।

निकट इतिहासका आन्दोलनका मूल अवधारणा अहिले ‘राजनीतिक क्रान्ति पूरा भएको’ अवस्थामा आइपुग्दा कता के गरेर दिन बिताइरहेका होलान् भन्ने विषय अहिले राज्यको चरित्रसँग सोझै जोडिएको छ । सर्वोच्चमा फलानोको सट्टा किन फलानो न्यायाधीशमा सिफारिस भयो ? फलानोको सट्टा किन फलानो राजदूतमा नियुक्त भयो ? जस्ता खुद्रा प्रश्नको जवाफ खोज्नुभन्दा सोझै दलाल पुँजीवादको अहिलेको ठेगाना खोज्यो भने धेरै प्रश्नको उत्तर त्यतै मिल्न सक्छ ।

जब राजनीतिकै दलालीकरण भएको छ भने दलाल पुँजीवादको अहिलेको बास तिनै दलमा छ, जसले यसको विरोध गरेर राजनीतिक आन्दोलन गरेका थिए । अहिले कुनै कुरा यस्तो भएको छ भन्नुभन्दा त्यो कुरा किन त्यस्तो भयो वा त्यस्तो किन हुन्छ भन्ने प्रश्नको उत्तर बढी महत्त्वपूर्ण हुन्छ । यसको उत्तर भने त्यति सजिलो छैन ।

सन् २००२ को अर्थशास्त्रका नोबेल विजेता ड्यानियल काह्नेम्यानको केही वर्षअघि प्रकाशित ‘थिङकिङ, फास्ट एन्ड स्लो’ पुस्तक पछिल्लो समयको चर्चित मध्येको हो । उक्त पुस्तकमा मान्छेको कुनै पनि कुरा सोच्ने र निर्णयमा पुग्ने प्रक्रियाबारे रोचक व्याख्या छ । उनको एउटा प्रमुख सार के छ भने– हामीले आजभन्दा वर्षौं अघिको कुनै घटनाबारे अहिले पनि सजीव रूपमा सम्झिरहेका हुन सक्छौं । जे कुरालाई हामीले प्रस्ट सम्झेको ठानिरहेका छौं, वास्तवमा त्यतिखेर भएको कुरा र अहिले सम्झेको कुरा निकै फरक हुनसक्छ ।

एउटा घटना भएको ५ वर्षपछि कुरा गर्दा त्यसबारे एउटा चित्र हुन्छ, हाम्रो दिमागमा । हामीले लगातार त्यो चित्र पछिल्लो मनस्थिति अनुसार फेर्दै जान्छौं । हाम्रो मनलाई लाग्छ, खासमा भएको त्यही नै थियो, जुन अहिले हामीले सम्झेका छौं । तर खासमा त्यो घटना अर्कै प्रकृतिको हुनसक्छ, जतिबेला त्यो भएको थियो । हाम्रो सोचाइ र वास्तविकतामा फरक किन पर्न सक्छ भने हाम्रो दिमागमा मूलतः दुइटा प्रणालीले काम गरिरहेका हुन्छन् ।

पहिलो प्रणालीले कुनै कुरा जस्तो छ, त्यही ‘इम्प्रेसन’ दोस्रो प्रणालीमा पुर्‍याउँछ । दोस्रो प्रणालीले सामान्य अवस्थामा जस्तो ‘इन्पुट’ पायो, त्यसकै आधारमा अन्तिम धारणा बनाउँछ । व्यावहारिक आवश्यकताका आधारमा दोस्रो प्रणालीले पहिलो प्रणालीले दिएको ‘इन्पुट’ वा ‘इम्प्रेसन’लाई आफ्नो सुविधा अनुकूल व्याख्या गर्छ । र भन्ठान्छ, भएको यस्तो हो ।

उदाहरणका लागि कुनै काम विशेषका लागि एकजना नयाँ मानिससँग भेट भयो । त्यो मान्छे असल लाग्यो कि खराब भनी पहिलो प्रणालीले एउटा ‘इम्प्रेसन’ पठाउँछ, दोस्रो प्रणालीलाई । दोस्रोले आवश्यकता अनुसार निर्णय गर्न सक्छ, त्यो ‘इम्प्रेसन’को आधारमा । आफूले मानेको मान्छेले गरेको कुनै नराम्रो कुरा राम्रो लाग्न सक्छ । आफूले हेपेको मान्छेले गरेको कुनै राम्रै कुरा पनि दोस्रो प्रणालीले नराम्रो भनेर विश्लेषण गरिदिन सक्छ । अर्थात् जेलाई हामीले प्रस्ट रूपमा आफ्नै अनुभव वा स्मृति भन्छौं, ती लगातार बन्दै–भत्कने कुरा हुन् ।

काह्नेम्यानको प्रसंग ल्याउनुको कारण दलाल पुँजीवाद अहिले कहाँ पुगेको छ भनी जाँच्न हो । दलाल पुँजीवादको विरोध गर्दै राजनीति थालेकाहरूमध्ये धेरै अहिले आफै त्यही दलालीमा फँसेको कुरा उनीहरूलाई बाहिरबाट हेर्नेले प्रस्ट देख्छन् । तर उनीहरू स्वयम् त्यो सपाट तथ्यलाई देख्दैनन् । किन देख्दैनन् त ? किनकि मान्छेले जे कुरालाई तथ्य ठान्छ, त्यसले आफूले आफैलाई व्याख्या गर्दैन । व्याख्या अरुले गर्ने हो । तसर्थ उनीहरूलाई अहिले दलाली, दलालीजस्तै लाग्दैन । र यो कुरा कुनै व्यंग्यभावमा भनिएको होइन । यो समाज विज्ञान र मनोविज्ञानका सिद्धान्तमा स्थापित कुरा हो ।

त्यतिखेर पनि वस्तुगत यथार्थ अहिलेकै जस्तै थियो होला । उदाहरणका लागि गोर्खा भर्ती बन्द हुनुपर्ने कुरा होस् वा भारतसँगको असमान सन्धि खारेज गर्ने मुद्दाको लागि आफू जेल जान तयार रहेको कुरा नै किन नहोस् । त्यो यथार्थ त्यही नै छ । तर आफ्नो दिमागको पहिलो प्रणालीले पठाएको ‘इन्पुट’लाई अब दोस्रो प्रणालीले अहिलेको मनस्थिति अनुसार छुट्टै व्याख्या गर्छ । अब त्यो विषयका लागि संघर्ष गर्नुपर्ने जस्तो लाग्दैन । अब लाग्न सक्छ, ठूलो देशले सानोलाई हेपिहाल्छ नि, यो नै यथार्थ हो । नेपाल आफू धनी भयो भने यस्ता कुरा आफै हट्छन् भन्ने व्याख्यातिर अहिलेको दोस्रो प्रणाली लाग्छ ।

दलाल पुँजीवाद भनेको के हो वा के थियो भने– स्थानीय वा स्वदेशी व्यक्ति र व्यापारीहरू आफैले केही उत्पादनशील वा सिर्जनशील कार्य नगरी केवल विदेशका ठूला पुँजीपतिका स्थानीय एजेन्ट भएर काम गर्ने अवस्था । औपनिवेशिक समयमा विदेशी शक्तिलाई काम गर्न सजिलो हुन्थ्यो, स्थानीय दलाललाई हातमा लिएर । त्यस्ता स्थानीय दलाल जो आफै पुँजीवादी नभएर केवल विदेशी पुँजीपतिका दलाल हुन्थे र तिनको बफादारी पनि देशभित्र नभएर बाहिरकासँग हुने नै भयो ।

आफैले उद्योग र उत्पादन नगरेपछि देशको कच्चा पदार्थ बाहिर जाने नै भयो । रोजगारीको सिर्जना पनि नहुने भयो । त्यस्तो स्थितिले गर्दा देशभिक्रका ती सीमित व्यत्ति धनी भए । देशले उँभो लाग्न पाउने भएन भन्ने कुरा दलाल पुँजीवादको अन्त्य गरिनुपर्छ भन्ने तर्कभित्र पर्छ जो स्वतः राम्रो कुरा भइहाल्यो ।

आजको नेपालमा जहाँ लोकतान्क्रिक त्रान्ति पूरा भएको र वाम क्रान्ति बिसाइएको वा लोकतन्त्रमै मिसाइएको अवस्था छ । यो दलाल पुँजीवादको अन्त्यतर्फ लागेको छ त ? व्यापार घाटाका आँकडा सुन्दा त्यो हरेक वर्ष झन् विकराल बन्दै गएको सबैले पढेकै छौं । देशभित्र स्वदेशी उद्योग कलकारखाना आफै कति बढ्दै गएका छन्, त्यो पनि झन् निराशाजनक रहेको जगजाहेर छ । हुँदा–हुँदा तिनै विदेशका ठूला पुँजीपतिहरू नेपाल आइदिएर यहाँ लगानी गरिदिए हुन्थ्यो भनी बिन्तीभाउ गर्दा पनि कति आउलान्–नआउलान्, त्यसै आस गरेर बस्नुपरेको छ ।

तसर्थ यो सबै पृष्ठभूमि र अहिलेको अवस्था बीचको मूल प्रश्न के हो भने आखिर को थिए त विगतका दशकहरूमा नेपालका ती सबै पुँजीवादका दलालहरू ? र अहिलेको नेपालमा ती दलाल पुँजीवादीहरू कहाँ कोसँग के गर्दैछन् ? आजकलको नेपालमा ‘दलाल पुँजीवाद मुर्दावाद’ भन्ने नारा धेरै लाग्दैनन् । त्यसको अर्थ अब यहाँ ‘दलाल पुँजीवाद’ सकिएर पुरै स्वदेशी उत्पादनशील पुँजीवादी वर्गको स्थापना भएको हो कि त्यो पुरानो दलाल पुँजीवादले केवल ठेगाना बदलेको हो ?

मानिसको स्मृतिले कसरी काम गर्छ र एकै प्रकारका ‘डाटा’लाई परिस्थिति अनुसार उसले कसरी फरक व्याख्या गर्छ भन्ने समाज विज्ञानको सिद्धान्तको आलोकमा हेर्दा तिनै व्यक्ति जो ‘अरु’सँग हुँदा दलाल थिए, तिनै अहिले देशले खोजेजस्ता पुँजीवादी भएका छन् । किनकि ती अब आफ्ना भए । ‘आफ्नो’ पनि कहिल्यै नराम्रो हुनसक्छ र ?

समानुपातिक कोटामा आजकल सांसद को हुन्छन् ? चुनावताका ‘टिकट’ प्राप्त गर्न सक्षम कसलाई ठानिन्छ ? देशभरिका नाफामूलक निजी विद्यालय, कलेज, अस्पताल आदिमा देखिने र नदेखिने दुबै खालको हिस्सेदारी सबैभन्दा बढी राजनीतिक दलका नेताको नभए कसको छ ? नाम चलेका व्यापारिक ‘नेटवर्क’, नयाँ खुल्ने होटल र रिसोर्टमा नदेखिने ‘सेयर’ लगानी अहिले राजनीतिक वर्ग बाहेक कसको बढी छ ? अहिलेका सत्ताधारी हुन् कि विपक्षी प्रायःजसो ‘प्रभावशाली’ नेताका सबैभन्दा आफ्ना मान्छे दलाल पुँजीपति नभए अरु को छन् ? अनि ती जो पहिले अरु थिए, अब अहिले आफै भइसके भने ‘दलाल पुँजीवादी’ भनेर पहिले के बुझिएको थियो र अहिले कसलाई बुझ्ने ?

यसलाई अब यसरी बिट मारौं । नेपालमा जे भएको छ, त्यो संसारमा पहिलोपटक भएको होइन । राजनीतिक संघर्षकालका वैचारिक दृष्टिकोण र शब्दका परिभाषा संघर्षका पात्रहरू सत्तामा गएपछि संसारमा धेरैतिर फेरिएका छन् । सिद्धान्तका रंगहरू बदलिएका छन् । बदलिइरहनेछन् । लोकतन्त्रका लागि लडेका, जेलदेखि यातना सहेका पात्रहरू सत्तामा पुगेपछि सबैले राम्रो गरेका भए हामी बाँचेको संसार अहिलेभन्दा अर्कै हुने थियो । त्यसैले लोकतन्त्रलाई एउटा प्रक्रिया भनिएको हो ।

लोकतन्त्रमा आलोचनात्मक चेत हरदम रहिरहनुपर्छ । लोकतन्त्र भनेको केवल दलहरूमात्र होइनन् । केवल पाँच वर्षको एउटा निर्वाचनमात्र होइन । प्रत्येक दिनको नागरिकको निगरानी र आलोचनात्मक चेतले सुधार्दै लग्ने प्रणाली हो । र नागरिक समाजकै काम पनि राजनीतिक अधिकारका मुद्दामा सडकमा आउने मात्र नभई दैनन्दिन हिसाबमै जनताका सवालका लागि ‘दलाल पुँजीवादी’माथि पहरेदारी गर्ने हो ।

कान्तिपुर बाट

error: Content is protected !!