Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

लभ स्टेशनले शनिबार सबैतिर हाउसफुल

चैत २४, काठमाडौं : शुक्रबारबाट मुलुकका १०४ ओटा सिनेमा हलदेखि रिलिज भएको चलचित्र लभ स्टेशनले पहिलो दिन राम्रो व्यापार गरेको थियो। यो चलचित्र शनिबार सबैतिर हाउसफुल भएको छ।

शनिबार बिहानै देखिको वर्षाले केही बिथोले पनि दर्शकहरुको हलमा आगमन राम्रो रह्यो। दिउँसो गोपिकृष्ण मूभिजको चार ओटा हल, अष्ट नारायणको दुई ओटा हल, गुण सिनेमाका तीन ओटा हल एक सो मै हाउसफुल भयो। यस्तै प्रदर्शन भएका काठमाडौंका सबै मल्टिप्लेक्स दिउँसो हाउसफुल रह्यो।

चलचित्रका वितरक गोविन्द शाहीका अनुसार फिल्मलाई दर्शकले मन पराएका छन्। मुलुकका सबैजस्तो सिनेमा हल शनिबार हाउसफुल रहेको उनले बताए। आईतबारबाट मौसम बिहानै देखि राम्रो रहेको र ब्यापार पनि राम्रो रहेको शाहीले जानकारी गराए। यसैबीच शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, बिएसआर, अष्टनारायण लगायतका सिनेमा हलमा अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतको लभ स्टेशन टिम पुगेका थिए।

यी कलाकारलाई सँगै पाउँदा दर्शकहरु निकै खुसी भएका थिए। प्रदीप र जसितासँग दर्शकले सेल्फी खिच्नुका साथै अटोग्राफ लिए। दर्शकहरुको सेल्फी लिने भिडबाट कलाकारलाई जोगाउन निर्माण पक्षलाई यी फिल्म हलमा हम्मे हम्मे परेको थियो।

उज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ। लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्।

यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ। आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्।