Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

हावाहुरी पीडितका लागि उद्योग वाणिज्य महासंघले ५० लाख सहयोग गर्ने

१८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । ५० लाख सहयोग गर्ने निर्णय भएको महासंघ अध्यक्ष भवानी राणाले पुष्टि गरिन् ।

बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अनलाइनखबरलाई जानकारी दिए ।

प्रदेश नम्बर २ तथा बारा र पर्साका जिल्ला उद्योग वाणिज्य महासंघमार्फत राहत वितरण गर्ने महासंघको तयारी छ ।

आइतबार रातीको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ । गृहमन्त्रालयले २७ जनाको मृतकको सनाखत भएको जानकारी दिएको छ ।

सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने हावाहुरीले घर उजाडिएकाहरु खुला आकाशमा राहतको पर्खाइमा छन् ।