Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

इन्जिनियरिङ कलेजमा भ्रष्टाचार भएको छानबिन समितिको ठहर

१४ चैत, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा ठूलो आर्थिक अनियमितता भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । समितिले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोखरेललाई बुझाएको प्रतिवेदनमा सञ्चालकहरूले आर्थिक अपचलन गरेको उल्लेख छ ।

छानबिन समितिका एक सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सञ्चालकहरूले निर्णय गरेरै आर्थिक अनियमितता गरेको प्रमाण फेला परेको छ ।

संसदीय समितिको निर्देशनपछि सरकारले शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

कलेजको आर्थिक अनियमितता लुकाउन ७८ लाख रुपैयाँ घुस दिएको अभियोगमा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने र घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको दुई दिनपछि छानविन समितिले मन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

समितिले बैंक स्टेटमेन्ट हेर्न पाएन

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र पोखरा विश्व विद्यालयका प्रतिनिधि सम्मिलित ६ सदस्यीय छानविन समितिलाई कलेजले बैंक स्टेटमेन हेर्न नदिएको समितिका एक सदस्यले जानकारी दिए ।

‘यसबाट पनि छानबिनमा कुन तहसम्मको दबाव थियो भन्ने अनुमान गर्न सक्नुहुन्छ’, नाम उल्लेख गर्न नचाहने ती सदस्यले अनलाइनखबरसँग भने ।

सार्वजनिक संस्थाको रुपमा रहेको कलेजलाई निजी बनाएर दुई अर्बमा बेच्न खोजेको, २३ करोड वेरुजु र ५३ करोड कालो धनसम्बन्धी अनुसन्धान फितलो पार्न तत्कालीन आयुक्त पाठकले घुस लिएका थिए ।
Source: Online Khabar