Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

तीन दिनदेखि अस्पतालमा छट्पटाउँदै गर्भवति, उद्धारको तयारी हुँदै

१४ चैत,  मुगु ।  मुगु जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा तीनदेखि सुत्केरी हुन नसकेर एकजना गर्भवती मृत्यु शैयामा छट्पटाइरहेकी छन्। खत्याड गाउँपालिका-८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई तीन दिनअघि सुत्केरी व्याथाले च्यापेको थियो।उनलाइ मंगलबार प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याएको भएपनि सुत्केरी हुन नसकेपछि उनी मृत्यु शैयामा छटपटाई रहेकी हुन्।

थापा चौथो पटक गर्भवती भएकी हुन्।थापाको पाठ्यघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मनोजकुमार तिमिल्सिनाले जानकारी दिए।थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा लैजानका लागि जिल्लासँग समन्वय भइरहेको चिकित्सक तिमिल्सिनाले बताए।

तीन दिनदेखि सुत्केरी हुन नसकेर अस्पतालमा छटपटाई रहेकी थापाको शरीरमा रगतको मात्रा कम रहेको तथा स्वास्थ्य अवस्था समेत कमजोर रहेकाले उनको तत्काल उद्धार गर्नुपर्ने देखिएको छ।

स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवा बाहेक जटिल सेवा दिन नसकिने भएकाले गर्भवतीलाई अन्यत्र रिफर गर्नुको विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ। थापाको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकोप्टर व्यवस्थाका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले जानकारी दिए।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उद्धार गरिने रारा राष्ट्रिय निकुञ्जस्थित श्रीदल गुल्म राराका गुल्मपति रबि केसीले जानकारी दिए। अहिले उक्त हेलिकोप्टर सुर्खेतबाट अछामका लागि उडेकाले सुर्खेत फर्केलगत्तै ति महिलाको उद्धार गर्न खत्याड गाउँपालिकाको रातापानी उडान भर्ने तयारी रहेको गुल्मपति केसीले जनाएका छन्।

चैत्र ५ गते सोरु गाउँपालिका-५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो।

अन्नपूर्ण बाट