Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

होलीमा रङ दलिसकेपछि के गर्ने ?

 

काठमाडौं । आज होली पर्व उपत्यका लगायत देशका पहाडी क्षेत्रहरुमा धुमधामका साथ मनाइँदै छ। तराई क्षेत्रमा भने यो पर्व भोली मनाइन्छ । रङहरुको यो पर्वमा तपाईले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठुलै स्वास्थ्य समस्या झेल्नुपर्छ।

रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । यस्तै यो पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ। अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छ।

चिकित्सकहरुका अनुसार होलीमा उपयोग गरिने रंग, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ । होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिने गरेको छाला रोग विशेषज्ञ बताउँछन्। डा. अनिल झाका अनुसार रंगहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ समेत क्षती पुर्‍याउने गर्दछ । उनका अनुसार होलीको रंगहरुमा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ हुने भएकाले रंग खेल्दा निकै होस गर्नुपर्छ।

विज्ञहरुका अनुसार होलीमा प्रयोग हुने ‘हरियो रंग कपर सल्फेट, बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र  रातो रंग मर्करी सल्फेटबाट बन्छ। यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छ । जस्का कारण हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउने, छाला रोग लाग्ने हुन सक्छ । यस्तै, बैजनी रंगले दम र एलर्जी हुने, चम्किलो रंगले क्यान्सर हुनसक्ने, नीलो रंगले छालामा एलर्जी गराउने, रातो रंगले छालाको क्यान्सर हुन सक्ने, तथा स्मरणशक्तिलाई हानि पुर्‍याउन पनि सक्छ । यस्का साथै लेड अक्साइडले बनाइने कालो रंगले मृगौलामा समस्या उत्पन्न गराउने चिकित्सकहरु बताउँछन्।

होलीमा धेरै मात्रामा प्रयोग हुने अबिरमा समेत एसबेस्टस र अभ्रख मिसाइएको हुन्छ। त्यसकारण जथाभावी रुपमा अबिर दल्दा वा खेल्दा दम हुने, छाला र आँखामा जलन र संक्रमण हुने डा. झा बताउँछन्। रंगहरु लामो समयसम्म शरिरमा रहँदा एलर्जी भएर छाला चिलाउने वा पोल्ने हुन्छ । अझ छाला कुनै घाउ तथा डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ ।  त्यसकारण चिकित्सकहरु होलीमा रंगहरुसँग खेल्दा सचेत हुन आग्रह गर्दछन्। होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाउने तथा टोपीहरु लगाएर मात्र रंग तथा अबिरसँग खेल्न चिकित्सकहरु सुझाउँछन्।

रंगको दुस्प्रभावबाट बच्न होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो मानिसन्छ । यस्तै कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि धेरै जोगिन सकिन्छ । चिकित्सकहरुका अनुसार होली खेलीसकेपछि तुरुन्त सफा पानीले नुहाउनु पर्छ । यस्का साथै छालाको जलन हटाउन मोइस्चराइजरको प्रयोग गर्न सकिन्छ । तर,  रंग पखाल्ने भन्दै छालालाई बारम्बार साबुन लगाएर रगड्नु भने हुन्न । यसो गर्दा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुअघि शरीरमा भएको रंग राम्रोसँग पुछ्नु पर्छ।

Source: Swasthya Khabar