नेपाल र मलेसियाबीच तय भएको मैत्रीपुर्ण खेल स्थगित
काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र मलेसियाबीच तय भएको मैत्रीपुर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसंग तय भएको खेल तत्कालको लागि स्थगित भएको हो । नेपालले २६ मार्चमा मलेसियासंग उसैको मैदानमा खेल्ने तयारी गरेको थियो । मैत्रीपुर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महिना कोटाभन्दा बढी खेल हुने भएको कारण फिफाबाट अनुमति नपाएको हो । मलेसियाले फिफाबाट एक महिनामा ३ मैत्रीपूर्ण खेल खेल्न पाउने प्रावधान रहेको छ । मलेसियाले यसअघि नै २ खेल खेलिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का टिम व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेल तत्कालको लागि स्थगित भएको बताए । उनले मलेसिया फुटबल र एन्फा मैत्रीपुर्ण खेल स्थगित गर्न सहमत भएको र नयाँ मिति घोषणा गरिने जानकारी गराए । मलेसियासंगको मैत्रीपुर्ण खेल स्थगित भएपनि नेपालले कुवेतसंग आगामी मार्च २१ मा उसैको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ ।
(२५ फाल्गुण २०७५, शनिवार, १५ .५३ मा प्रकाशित )