Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेख जिल्ला भयो कोरोना संक्रमण मुक्त


दैलेख  : कुनै समय कोरोनाको रेड जोन रहेको दैलेख कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । कोरोना संक्रमण भएर कोभिड अस्पतालमा बसेका संक्रमितहरु उपचार पछि घर फर्के संगै दैलेख कोरोना संक्रमण मुक्त जिल्ला भएको हो । कर्णाली प्रदेशमा सबै भन्दा पहिला गत जेठ पाँच गते आठबिस नगरपालिका वडा नः १ सात्तलाका एक जना युवकमा कोरोना संक्रमण देखिएको थियो ।

दिनहुँजसो सयौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुन थालेपछि नेपाल सरकारले दैलेखलाई रेडजोनको रुपमा राखेको थियो । त्यसबेला कोरोना संक्रमितलाई व्यवस्थापन गर्न कठिन भएको थियो । एकाएक संक्रमितको संख्या बढ्न थालेपछि उनीहरूको उपचार र आइसोलेसन व्यवस्थापनमा समस्या भएको थियो । तर, शनिवार देखि दैलेख कोरोना संक्रमणको रेड जोनबाट ग्रीन जोनमा प्रवेश गरेको छ । अर्थात दैलेख जिल्ला कोरोना संक्रमण मुक्त भएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार जिल्ला कोरोना संक्रमण मुक्त भएको छ । लामो समयदेखीको अथक प्रयास पछि दैलेख जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको प्रशासनले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय संग हाल सम्म ११ हजार २ सय २२ जना व्यक्तिहरुमा पिसिआर परीक्षण गरिएको बताएको छ । परिक्षण गरिएका मध्ये १ हजार ४ सय ९८ जना व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये १ हजार ४ सय ९२ जना व्यक्तिहरुले उक्त भाइरसलाई पराजित गरी संक्रमणमुक्त भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । कोरोना संक्रमणका कारण हालसम्म जिल्लामा ६ जना व्यक्तिहरुको ज्यान गुमाएका छन् ।

प्रमुख जिल्ला अधिकारी एवं कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र दैलेखका संयोजक सन्त बहादुर सुनारले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लामा दिनरात खटिई जिल्लालाई संक्रमणमुक्त बनाउन योगदान दिईरहनु भएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, आम नागरिक तथा सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका छन ।
प्रमुख जिल्ला अधिकारी सुनारले नेपाल सरकारबाट कोरोना भाइरसको खोप अभियान सञ्चालन भईरहेको र यस संक्रमणको जोखिम हालसम्म पनि यथावत नै रहेको हुँदा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गरी कोरोना भाइरसको संक्रमणलाई निर्मूल गर्ने लक्षमा ऐक्यबद्धताका लागि आग्रह गरे ।

दैलेखमा कोरोनाको हटस्पट हुन थालेपछि निर्वतमान प्रतिनिधि सभा सांसद रबिन्द्र शर्माको पहलमा जिल्लामा पिसिआर परीक्षणका लागि मेसिन खरिद र प्रदेश सांसद अम्मर बहादुर थापाको पहलमा आइसोलेसन अस्पताल निर्माण गरेपछि कोरोना नियन्त्रण गर्न सफल भएको बताइएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निरञ्जन पन्तले कोरोना संक्रमणका लागि जिल्लाका सबै निकायको भुमिका महत्वपुर्ण भएका कारण जिल्ला कोरोना संक्रमण मुक्त भएको बताए । उनले कोरोना संक्रमण जिल्ला भए पनि कोरोना संक्रमण बाट अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्नु पर्ने बताए । उनले कोरोनाको परीक्षण निरन्तर राख्ने र संक्रमण भेटिमा उपचारका लागि आफुहरु तयारी अवस्थामा रहने बताए ।