Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बंगलादेशलाई शृंखला

काठमाडौं : पाहुना टोली नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृंखला बंगलादेशले जितेको छ। मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएपछि बंगलादेशले शृंखला १–० ले जितेको हो। पहिलो खेलमा बंगलादेशसँग नेपाल २–० गोलले पराजित भएको थियो।

ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो। बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल भने गर्न सकेन।

बंगलादेशको पोस्ट्मा लगातार आक्रमण बुने पनि गोल नहुँदा नेपाल निरास बन्न पुगेको थियो। खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किनु नेपालका लागि दुर्भाग्य बन्यो। रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि गोलका लागि उत्कृष्ट आक्रमण बुन्न सकेन।

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका थिए।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले बंगलादेशसँगको खेलका लागि दसैँलगत्तै अभ्यास सुरु गरेको थियो। अधिकांश युवा र केही पुराना खेलाडीको सम्मिश्रण रहेको २५ सदस्यीय नेपाली टोली बंगलादेश गएको थियो।

विश्वकप छनोटअन्तर्गत एसियाली देशको समूह ‘बी’मा रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग तीनवटा खेल खेल्न बाँकी छ। एसियन फुटबल महासंघ ९एएफसी०ले कोरोनाका कारण स्थगित भएको छनोट खेलको नयाँ मितिसमेत सार्वजनिक गरिसकेको छ। एएफसीले फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतका बाँकी खेलहरू सन् २०२१ को जुन १५ सम्म सम्पन्न गर्ने जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरू स्थगित भएको थियो। नेपालले बाँकी तीनवटै खेल दशरथ रंगशालामा खेल्नेछ।

नेपालले यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघि चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंकविहीन चाइनिज ताइपेई पुछारमा छ।