प्रधानमन्त्री ओलीद्वारा न्याम्सको उपकुलपतिमा प्रा.डा. देवनारायण साह नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई नियुक्त गरेका हुन् । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्ति गरेका छन् । जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई वीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधानतथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।