Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बुधबार भएको दुर्घटनाका परिवार द्धारा शव उठाउन अवरोध

जाजरकोट  : मापदण्ड विपरीत सडक बनाएका कारण ज्यान गएको भएको भन्दै बुधबार बेलुकी सडक दुर्घटनामा मृत्यु भएका ६ जनाको शव अझै उठाउन दिइएको छैन। ​जुनीचाँदे गाउँपालिका १ औलमा बुधबार बेलुकी भे १ज ९३५ नम्वरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कीर्ति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा ५ की वर्ष ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढाको सडक दुर्घटनामा ज्यान गएको हो। प्रहरीलाई स्थानीयवासीले शव समेत निकाल्न नदिएको प्रहरीले जनाएको छ।

मापदण्ड विपरीत बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै स्थानीयले शव निकाल्न नदिएका हुन्‌। सदरमुकामबाट गएराति नै सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको थप फोर्स पठाएपनि स्थानीयको अवरोधका कारण सुरक्षाकर्मी घटनास्थल नजिक नै जान सकेका छैनन्‌।​चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन्‌।
चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा पीडितले आगजनी गरेका छन्। ठेकेदारको लापरवाहीका कारण​ जुनीचाँदे–१, लोड्नेदेखि लुहादहसम्मको सडक मापदण्ड विपरीत निर्माण भएको थियो। मापदण्ड विपरीत सडक निर्माण भएको आवाज पटक(पटक उठेपनि सरोकारवालाले नसुन्दा यो ठाउँमा यातायातका साधन दुर्घटनामा पर्दै आएका छन्। केही महिना अघिमात्र सोही ठाउँमा जीप दुर्घटना हुँदा मानवीय क्षती भएको थियो।

कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी काम गर्दा समस्या निम्तिएको स्थानीयले बताएका छन्‌। जुनीचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जीप दुर्घटना परेको हो। जीपमा सवार जुनीचाँदे(११ का नरबहादुर बुढा घाइते भएका छन्। घाइतेका सुर्खेतस्थीत प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जीप खोलामा परेको छ।