नगरपालिकालाई कन्टेनर सहयोग
दैलेख : नारायण नगरपालिकामा बढ्दो बजारीकरणका कारण बढ्दै गएको फोहर व्यवस्थापनमा चुनौती थपिएको बेला फोहोर व्यवस्थापन संकलन गर्न फोहोर संकलन गर्ने कन्टेनर सहयोग गरिएको छ । दैलेख सदरमुकामलाई स्वच्छ सुन्दर बनाउन क्लिन सिटी अफ दैलेखले उक्त कन्टेनर सहयोग गरेको हो । क्लिन सिटी अफ दैलेखका संयोजक राजेशकुमार हमालले नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठलाई कन्टेनर हस्तान्तरण गरेका हुन ।
कन्टेनर हस्तान्तरण गर्दै संयोजक राजेश हमालले सदरमुकाम लाई सफा सुन्दर आकर्षक बनाउन सहयोग गरिएको बताए । उनले कुहिने, नकुहिने र जल्ने फोहोर संकलन गर्नका लागि कन्टेनर सहयोग गरिएको र जल्ने फोहोर संकलन गरेर जलाउने, नकुहिने फोहोरलाई पुन प्रयोगमा ल्याउने र कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर कृषिमा प्रयोग गरिने तयारी गरेको बताए ।
दैलेख सदरमुकाममा रिदम फेन्सी पसलका सञ्चालक टोपेन्द्र शाहीले बजारमा दैनिक फोहर संकलन हुन नसक्दा समस्या भएको भन्दै अव कन्टेनर राखेसँगै फोहोर व्यवस्थापनमा गर्न सहज हुने बताए । उनले एक दिन बिराएर नगरपालिकाको ट्याक्टर आउने गरेको भए पनि घरमा नभएको बेला आउने र फोहोर रहने समस्या अन्त्य हुने बताए ।
्
नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले कन्टेनरहरू सदरमुकामको मुख्य चोक लगायतका फोहोर बढी संकलन हुने ठाउँमा राखिने बताए । उनले सामाग्री उपलब्ध गराउने क्लिन सिटी अफ दैलेखलाई धन्यवाद ज्ञापन दिँदै सफा सुन्दर नगरपालिका निर्माण गर्न सबै नगरवासीको दायित्व रहेको बताए । उनले भने सदरमुकाममा एक घर एक गमला कार्यक्रमलाई समेत सञ्चालन गर्ने र दैलेख सदरमुकामलाई सुन्दर निर्माण गर्ने अभियानमा लागेको बताए ।