Loading... आजः शुक्रबार, मंसिर १२, २०८३
Trending

अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर सुरु भयो १०ओैँ राष्ट्रिय खेलकुदको ट्रफी टुर


दैलेख  :   कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुक्रबार ट्रफी टुरको शुभारम्भ गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहौल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ । श्रीस्थानको प्राकृतिक अखण्ड ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको हो । श्रीस्थानको ज्वालाबाट बालिएको ओलम्पिक टर्च कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रविन चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए । रोकायाले टर्च ग्रहण गरेसँगै दैलेखबाट ट्रफी टुरको औपचारिक यात्रा सुरु भएको हो ।

टर्च तथा ट्रफी टुर दैलेखबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल आयोजना हुने कालिकोटहुँदै जुम्ला पुर्‍याइने कार्यक्रम छ । टुरमा ओलम्पियन दीपक विष्ट, साग गेम्सका डबल गोल्ड मेडलिस्ट दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता छ ।
ट्रफी टुर समापनपछि १५ मंसिरमा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले एक भव्य समारोहबीच टुर टोलीको स्वागत तथा ट्रफी अनावरण गर्नेछन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता १६ मंसिरदेखि कर्णाली प्रदेशमा औपचारिक रूपमा सुरु हुँदै छ । यद्यपि, प्रतियोगिताअन्तर्गतका ३२ खेलमध्ये १० खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतीक्षामा रहेको कर्णालीमा प्रतियोगिताको तयारीसँगै खेलकुद गतिविधि पनि बढ्दै गएको छ ।
ट्रफी टुर तथा ओलम्पिक टर्च बाल्ने कार्यक्रममा नारायण्ण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा, भैरवी गाउँपालिका उपाध्यक्ष देबी भण्डारी,निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाही, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्मा, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्मा लगायत सुरक्षा निकायको उपस्थिति रहेको थियो ।