Loading... आजः शुक्रबार, मंसिर १२, २०८३
Trending

पुरुष क्रिकेटमा एपीएफको विजयी सुरुआत

सुर्खेत  :  दीपक बोहराको कप्तानीपूर्ण अर्धशतकीय पारीको मद्दतमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ । प्रतियोगिताको दोस्रो दिनको तेस्रो खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै दुई अङ्क जोडेको हो ।

कालुञ्चोक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । एपीएफका लागि दीपक बोहराले ४४ बलमा चार चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए । त्यस्तै, सुमित महर्जनले २१ बलमा २८ र अमरसिंह रौतेलाले १३ बलमा १६ रनको योगदान दिए ।

१५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । कोशीका लागि अङ्कित सुवेदीले ३९ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए । त्यस्तै, कृतिक कामतले ३८ बलमा २७ र समीर कार्कीले सात बलमा ११ रन बनाए ।

एपीएफका बलरमध्ये अमरसिंह रौतेलाले तीन विकेट लिए भने अभिनाश बीले दुई विकेट हात पारे । । भुवन कार्की, सन्तोष यादव र प्रज्ज्वल शाहले एक–एक विकेट लिए ।