दैलेखमा लैङ्गिक हिंसाका घटना बढ्दो

दैलेख : दैलेखमा लैङ्गिक हिंसाबाट प्रभावित हुनेको संख्या बढ्दै गएको देखिएको छ । हिंसापीडितलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता र पुनर्स्थापनालगायतका सेवा प्रदान गर्दै आएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र -ओसीएमसी_ मा पछिल्लो समय सेवाग्राहीको संख्या बढे पनि आवश्यक पूर्वाधार र बजेट अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ ।
जिल्ला समन्वय समिति दैलेखको आयोजनामा मङ्सिर ८ गते सम्पन्न ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सेवालाई सुदृढीकरणका लागि जिल्ला स्तरीय सरोकारवालासँग समन्वय बैठक’ मा प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म मात्रै ओसीएमसीबाट ४८४ जना हिंसाप्रभावितले सेवा लिएका छन् । तीमध्ये ३०४ जना नयाँ सेवाग्राही र १८० जना फलोअप सेवाग्राही रहेका छन् ।
केन्द्रको तथ्याङ्कअनुसार सेवा लिनेमा १९ देखि ४९ वर्ष उमेर समूहका २७० जना रहेका छन् भने १५ देखि १८ वर्ष उमेर समूहका १०२ जना र १० देखि १४ वर्ष उमेर समूहका ५१ जना छन् । त्यस्तै १० वर्षमुनिका २१ जना बालबालिकाले समेत सेवा लिएका छन् । यसले लैङ्गिक हिंसाको प्रभाव महिला मात्र नभई बालबालिका र किशोरकिशोरीसम्म फैलिएको देखाउँछ ।
प्रस्तुत विवरणअनुसार घरेलु हिंसाका १२३ घटना अभिलेख भएका छन् । सामाजिक विभेदका ३६, बालविवाहका १५ तथा अन्य भावनात्मक, शारीरिक र यौनजन्य हिंसासम्बन्धी ३०० घटना अभिलेखमा छन् । हिंसापीडितमध्ये ३०८ जना आफ्नै नाता सम्बन्धभित्रका व्यक्तिबाट प्रभावित भएको तथ्याङ्कले पारिवारिक तथा सामाजिक संरचनाभित्रै हिंसाको जोखिम गम्भीर रहेको देखाएको छ ।
ओसीएमसीले स्वास्थ्य परीक्षण, उपचार, मनोसामाजिक परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन, कानुनी परामर्श, सुरक्षा तथा पुनर्स्थापनाका लागि विभिन्न निकायसँग समन्वय गर्दै आएको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म २४९ जनाले मनोसामाजिक परामर्श सेवा र २०४ जनाले शारीरिक परीक्षण सेवा लिएका छन् ।
यद्यपि केन्द्रले सेवाग्राहीलाई समयमै सबै सेवा उपलब्ध गराउन नसक्नु, बालमैत्री कक्ष र गोपनीयतासहितको मनोसामाजिक परामर्श कक्षको अभाव, टाढाका सेवाग्राहीको फलोअपमा कठिनाइ तथा पुनर्स्थापनाका लागि पर्याप्त स्रोत नहुनुजस्ता समस्या भोगिरहेको छ । सबैभन्दा महत्वपूर्ण चुनौती स्थानीय सरकारबाट प्रतिबद्धताअनुसारको बजेट निकासा नहुनु रहेको केन्द्रले जनाएको छ ।
दैलेखका ११ वटै स्थानीय तहले ओसीएमसी सञ्चालनका लागि प्रतिपालिका पाँच लाख रुपैयाँका दरले व्यवस्थापन गर्ने निर्णय गरे पनि प्रतिबद्धताअनुसार रकम निकासा हुन नसकेको विषय बैठकमा उठाइएको थियो । हालसम्म छ वटा स्थानीय तहबाट ओसीएमसी तथा सुरक्षित आवास गृह व्यवस्थापनका लागि बजेटसहितको पत्र प्राप्त भएको विवरणमा उल्लेख छ ।
केन्द्रले हिंसाप्रभावित १५ जनालाई आयआर्जन कार्यक्रममा जोड्न सहजीकरण गरेको छ भने नौ जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको छ । त्यस्तै तीन जनालाई व्यावसायिक तालिम र एक जनालाई क्षमता विकास तालिमका लागि सिफारिस गरिएको छ ।
बैठकमा ओसीएमसीको सेवा प्रभावकारी बनाउन स्थानीय सरकारको अपनत्व, नियमित बजेट विनियोजन तथा निकासा, सेवा केन्द्रको पूर्वाधार विकास र सरोकारवाला निकायबीचको समन्वयलाई प्राथमिकतामा राखिएको थियो । निर्देशिकाले जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्लास्तरीय सल्लाहकार समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको व्यवस्था गरेको छ । ती समितिमार्फत नियमित अनुगमन, समीक्षा र आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ ।
लैङ्गिक हिंसा रोकथाम र प्रभावितको पुनर्स्थापना कुनै एक संस्थाको प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, न्यायिक निकाय तथा विकास साझेदारले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ । निर्णय र प्रतिबद्धतामा मात्र सीमित नभई बजेटको वास्तविक निकासा, सेवा केन्द्रको पूर्वाधार विकास र प्रभावितको सुरक्षित पुनर्स्थापनामा स्थानीय सरकारको सक्रियता आवश्यक देखिएको छ ।


