कर्णाली करिडोरको सलीसल्ला–खार्पु सडकखण्ड कालोपत्रे हुने


हुम्ला : कर्णाली करिडोरको हुम्ला खण्ड अन्र्तगत पर्ने सलीसल्ला खार्पु खण्डको ३९ किलोमिटर सडक कालोपत्रे हुने पक्का भएको छ । सो क्षेत्रको सडकलाई दुई खण्डमा विभाजन गरि टेण्डर आव्हान गरिएको बेला दुई वटा निर्माण कम्पनीको आशयपत्र स्वीकृत भएर सम्झौता कार्य भएपछि सो खण्डको सडक कालोपत्र हुने भएको हो ।
अब कर्णाली करिडोरको हुम्ला खण्डको सडक पनि स्तरोन्नतिका साथै कालोपत्रे हुने पक्का भएको कर्णाली करिडोर उत्तरखण्ड अन्र्तगतको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । सलीसल्लादेखि खार्पुसम्मको ३९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरि कालोपत्रे गर्ने कार्य अगाडि बढेको उनको भनाइ छ । यसमा सलीसल्लादेखि सर्केगार्ड गाउँपालिका– २ को खडीखेतसम्मको २०।८ किलोमिटरलाई एउटा खण्ड र खडीखेतदेखि खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्मको १८।२ किलोमिटर दुरीको सडकलाई अर्को खण्ड बनाएर बोलपत्र आव्हान गरि निर्माण कम्पनी छनौट भएर सम्झौता कार्य सम्पन्न भएको उनको भनाइ छ ।
यी दुवै खण्डको जिम्मा पाउने निर्माण कम्पनीहरुमा सलीसल्ला खडिखेत खण्डको लागि एमएस, एकेसिपीएल, विएनटी र वाग्मती जोईन्ट भेन्चर तथा खडीखेत खार्पु खण्डको लागि एमएस विद्याज्योति कन्ट्रक्सन रहेका छन । दुवै निर्माण कम्पनीका प्राविधिकहरु शुक्रबार आ–आफ्नो सडक निर्माण स्थलमा पुग्ने तथा उक्त टोली निर्माण स्थलमा पुगेर कार्यालय स्थापनादेखि निर्माण सामग्री जम्मा गर्ने, मेसिनहरुको व्यवस्था गर्ने र कामदारको व्यवस्था गरिसके लगत्तै सडकको स्तरोन्नति कार्य सुरु हुनेछ । सलीसल्ला खार्पु खण्डको सडकका लागि नेपाल सरकारले तीन अर्ब ३३ करोड बजेट व्यवस्था गरेको थियो ।
बोलपत्र आव्हान हुँदा घटी घटाउमा सलीसल्ला खडीखेत खण्डका लागि एक अर्ब ७९ लाख ४२ हजार ६८७ रुपियाँ र खडीखेत खार्पुका लागि ८५ करोड ६२ लाख १६ हजार ६१४ रुपियाँमा योजनाले निर्माण कम्पनीसँग निर्माण कार्य सम्पन्न गर्न सम्झौता गरेको छ । दुवै खण्डको सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कार्य तीन वर्षभित्र सम्पन्न हुनेछन । यसमा सलीसल्ला खडीखेत सडकको स्तरोन्नति, ग्राभेल र कालोपत्रे पुरै सडकको हुने छ भने खडीखेत खार्पु सडकको छ किलो मिटर सडकसम्म कालोपत्र हुनेछ ।बाँकी १२।२ किलोमिटर सडकको स्तरोन्तती र कालो पत्रे स्तरको ग्राभेल हुनेछ ।

