Loading... आजः सोमवार, कार्तिक १७, २०८३
Trending

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


दैलेख  :   दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतदेखि दैलेख बजारतर्फ आउँदै गरेको मोटरसाइकल गुुराँस गाउँपालिका–४, चिसापानी नजिक ट्रकमा ठोक्किँदा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, देउरालीका ५५ वर्षीय कृष्ण आचार्यको मृत्यु भएको हो ।

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार आचार्यको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका २६ वर्षीय छोरा श्रवणकुमार आचार्य भने सकुशल रहेको ट्राफिक प्रमुख गुरुले बताए । मृतक आचार्यको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न मोटरसाइकल र ट्रकका साथै दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक रोकायले जानकारी दिए ।