Loading... आजः शुक्रबार, अशोज २३, २०८३
Trending

कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु


दैलेख  :   स्थानीय उत्पादनको प्रवद्र्धन, मौलिक कला–संस्कृतिको संरक्षण तथा पर्यटन विकासलाई जोड दिँदै दैलेखको चुप्रामा दोस्रो चुप्रा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ सुरु भएको छ । ‘भाषा, कला, संस्कृति र साहित्यको उत्थान, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार प्रवद्र्धनको साझा अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधवार गर्नुभयो ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले महोत्सवले दैलेखको कला, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने बताउनुभयो। युवाहरूको सक्रियतामा स्थानीय उत्पादनको बजारीकरण, कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुनु सकारात्मक काम भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहीले विगतमा भएका राम्रा कामलाई आत्मसात् गर्दै समयअनुसार परिमार्जन गरी संरक्षण गर्दै अघि बढ्नु युवाहरूको दायित्व भएको बताउनुभयो। स्थानीय उत्पादनलाई बजारसँग जोड्न र जिल्लाको मौलिक कला तथा संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

महोत्सवमा स्थानीय कला तथा संस्कृतिको समेत विशेष प्रदर्शन गरिएको छ । उद्घाटन समारोहमा पञ्चेबाजा, नौमुले गाउँपालिकाका महिलाहरूको पञ्चेबाजा, लाखे नाच, गर्रा नाचलगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष श्यामबहादुर रानाले स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडाबाट चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । सोही बजेटमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाँदा त्यसलाई थप विस्तार गरी महोत्सवका रूपमा आयोजना गरिएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष रानाका अनुसार गाउँपालिकाभित्र रहेका विद्यालयबीच नृत्य प्रतियोगिता आयोजना गर्ने उद्देश्यले बजेट विनियोजन गर्ने योजना बनाइएको थियो ।

विद्यालयका विद्यार्थी तथा स्थानीय प्रतिभालाई समेत सहभागी गराउने उद्देश्यले उक्त कार्यक्रमलाई महोत्सवमा प्रस्तुत गर्ने गरी अघि बढाइएको उहाँले बताउनुभयो ।उहाँले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवद्र्धनसँगै नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो ।

चुप्रा बोइज युनियनको आयोजनामा असोज २१ गते देखी ३१ गते सम्म सञ्चालन हुने महोत्सव डुङ्गेश्वर गाउँपालिकाको संरक्षकत्वमा तथा डुङ्गेश्वर गाउँपालिका–१, बेलपाटाको मुख्य सहयोगमा आयोजना गरिएको हो । महोत्सवमा कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, व्यापारिक गतिविधि, विद्यालयस्तरीय नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। स्थानीय उत्पादन, कला–संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ।