Loading... आजः शुक्रबार, अशोज २३, २०८३
Trending

मानव अधिकार रक्षामा कर्णालीका युवा सक्रिय


दैलेख  :   समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आवाज उठाउन तथा मानव अधिकारको संरक्षणमा युवाको भूमिका प्रभावकारी बनाउन दैलेखमा युवाकेन्द्रित दुईदिने कार्यशाला सुरु भएको छ । दैलेख र कालिकोट जिल्लाका मानव अधिकार रक्षक सञ्जालमा आबद्ध युवालाई मानव अधिकारका विषयमा सचेत बनाउँदै समुदायमा हुने विभेद, हिंसा तथा अधिकार उल्लङ्घनका घटनाको पहिचान र न्यूनीकरणमा सक्रिय बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ ।
कार्यशालामा मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा मानव अधिकार रक्षक कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानव अधिकार संरक्षणका लागि युवाको भूमिका महत्वपूर्ण रहेने बताउनुभयो । उहाँले समाज परिवर्तनको नेतृत्व गर्ने शक्ति युवामा रहेकाले मानव अधिकारको संरक्षण र उल्लङ्घनका घटनाविरुद्ध खबरदारी गर्न युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । मानव अधिकारको संरक्षण सरकार वा कुनै एउटा संस्थाको मात्रै जिम्मेवारी होइन, हरेक नागरिकको साझा दायित्व हो उहाँले भन्नुभयो, यस अभियानमा युवाहरू सचेत र सक्रिय भए समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्न सकिन्छ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश थापाले मानव अधिकार संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मानव अधिकार संरक्षणको जिम्मेवारी सबैको भएपनि युवापुस्ताको अझै धेरै रहेको बताउनुभयो । उहाँले समाजमा हुने विभिन्न घटनाहरुले मानव अधिकार हन्नका घटनामा बृद्धि भइरहेको बताउँदै त्यस्ता घटना घट्न नदिन युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्माले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा युवाहरुको भुमिका महत्वपूर्ण भएपनि युवाहरु मानव अधिकार उलङघनका घटनामा संलग्न देखिनु समाजका लागि दुर्भाग्य भएको बताउनुभयो । उहाँले पुराना पुस्ताले गरेको योगदानलाई बिर्सीने र उहाँहरुलाई अपमान गर्न उद्दत रहेको बताउँदै युवाहरुले समाज रुपान्तरणका लागि योगदान गर्नुपर्ने बताउनुभयो ।

ग्रामिणमुखी युवा अभियानका कर्णाली प्रदेश संयोजक सन्तोष विकले दैलेख र कालिकोटका विभिन्न समुदायमा सक्रिय युवाहरूलाई मानव अधिकार संरक्षणको अभियानसँग जोड्दै उनीहरूको नेतृत्व क्षमता विकास गर्ने लक्ष्यसमेत कार्यशालाले लिएको बताउनुभयो । उहाँले युवाहरु र जनप्रतिनिधिलाई संगै राखेर मानव अधिकारको आधारभूत अवधारणा, मानव अधिकार उल्लङ्घनका घटनाको पहिचान, पीडितको न्यायमा पहुँच, मानव अधिकार रक्षकको भूमिका तथा समुदायस्तरमा युवाले खेल्न सक्ने भूमिकालगायत विषयमा प्रशिक्षण गराईने बताउनुभयो । उहाँका अनुसार मानव अधिकारका लागि रक्षक संजालमा आवद्ध भएका युवाहरुले समाज रुपान्तरणमा समेत उदारणीय काम गरेको बताउनुभयो ।