क्षयरोगका बिरामी बढ्दै, बालबालिका पनि जोखिममा


कमल शर्मा
दैलेख : दैलेखमा क्षयरोगको संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा क्षयरोगका बिरामीको संख्या बढेको पाइएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा १४४ जना क्षयरोगका बिरामी भेटिएकामा आर्थिक वर्ष २०८२/०८३ मा यो संख्या बढेर १६४ पुगेको छ । पछिल्लो एक वर्षमा जिल्लामा क्षयरोगका २० जना बिरामी थपिएका हुन् ।
जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले पछिल्लो तथ्यांकअनुसार १६४ जना क्षयरोगका बिरामीमध्ये नौ जना १५ वर्षमुनिका बालबालिका रहेको जानकारी दिनुभयो । उहाँले क्षयरोग विशेषगरी संक्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कणसँगको सम्पर्कबाट सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक सम्पर्कमा रहेका बालबालिका जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो । संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेका ३२ जना बालबालिकामा सम्भावित क्षयरोगको अवस्था देखिएको र थप अनुसन्धान तथा परीक्षण गर्दा तीमध्ये दुई जनामा क्षयरोगको संक्रमण पुष्टि भएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार दुल्लु नगरपालिकामा सबैभन्दा धेरै २८ जना क्षयरोगका बिरामी भेटिएका छन्। आठबिस नगरपालिकामा २३, ठाटीकाँध गाउँपालिकामा २१, गुराँस गाउँपालिकामा २१, नारायण नगरपालिकामा १७, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १६, भगवतीमाई गाउँपालिकामा १५, भैरवी गाउँपालिकामा ८, डुंगेश्वर गाउँपालिकामा ८, नौमुले गाउँपालिकामा ४ र महाबु गाउँपालिकामा ३ जना बिरामी भेटिएका छन् । क्षयरोगलाई समाजको सामाजिक, आर्थिक तथा स्वास्थ्य अवस्थाको सूचकका रूपमा समेत हेर्ने गरिएको मेडिकल रेर्कडर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो सामाजिक तथा आर्थिक अवस्था कमजोर भएका परिवारमा पोषणको कमी र स्वास्थ्य सेवामा पहुँचको अवस्थाले पनि क्षयरोगको जोखिममा प्रभाव पार्न सक्ने हुन्छ । गरिबी र कुपोषण भएका समुदायमा क्षयरोग बढी देखिने गरेको अधिकारीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्याङक अनुसार तीन आर्थिक वर्षको तथ्यांक हेर्दा जिल्लामा क्षयरोगका बिरामीको संख्या उतारचढावपूर्ण देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा १९१ जना बिरामी भेटिएकोमा २०८१÷०८२ मा घटेर १४४ पुगेको थियो । आर्थिक बर्ष २०८२/०८३ मा पुनःबढेर १६४ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका कार्यालय प्रमुख डा मनोज कुमार विश्वकर्माले क्षयरोग लागेको ब्यक्तिले सावधानी नपानाएका कारण बालबालिकामा समेत सर्ने जोखिम रहेको बताउनुभयो । उहाँले १५ वर्ष मुनिका नौ जना बालबालिकामा मध्ये ६ जना बालक र तीन जना बालिकामा क्षयरोगको संक्रमण रहेको बताउनुभयो । उहाँले भन्नुभयो लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, राति पसिना आउनेलगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनु पर्दछ ।
क्षयरोग संक्रमित व्यक्तिको सम्पर्कमा रहेका परिवारका सदस्य र बालबालिकाको समयमै परीक्षण तथा निगरानी गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । राज्यले क्षयरोगका लागी निशुल्क स्वास्थ्य उपचारको ब्यबस्था गरेपनि कतिपय नागरिक क्षयरोग जाँच गराँउदा लाज हुने डरले रोग लुकाएर बस्ने जोखिमले समुदायका अन्य नागरिकलाई समेत जोखिम पु¥याउन सक्ने डा विश्वकर्माको भनाइछ ।
फोटो क्याप्सन ः जिल्ला अस्पतालमा क्षयरोगको उपचार गराइरहेको बालबालिका । तस्बिर कमल शर्मा

