Loading... आजः बिहिबार, अशोज १, २०८३
Trending

पाँच वर्षमा ७५ प्रतिशत मात्रै प्रगती

..


कमल शर्मा
दैलेख  :  निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थपिँदा समेत निर्माणको गति नबढेपछि ५० शय्याको सुविधा सम्पन्न अस्पताल भवन अझै अधुरै छ । निर्माणमा ढिलाइ हुँदा बिरामीले पर्याप्त शय्या नपाउनेदेखि पुरानो र साँघुरो भवनमै कोचाकोच गरेर उपचार गराउनुपर्ने अवस्था छ । २०७८ जेठ १० गतेदेखि निर्माण सुरु भएको भवन २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो । तर निर्धारित समय सकिएको दुई वर्ष बितिसक्दा समेत भवनको भौतिक प्रगति करिब ७५ प्रतिशत मात्रै पुगेको छ । १८ करोड २३ लाख ९९ हजार ३८१ रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीले समयमै काम सम्पन्न गर्न नसकेपछि निर्माण अवधि पटक–पटक थपिएको हो । दोस्रो पटक थपिएको म्याद २०८२ फागुन मसान्तमा सकिएको थियो । त्यसपछि पनि निर्माण सम्पन्न नभएपछि तेस्रो पटक २०८३ भदौ मसान्तसम्मका लागि म्याद थपिएको थियो । तर तेस्रो पटकको समयसीमा समेत सकिँदा भवन निर्माण पूरा हुन सकेन । पाँच वर्षसम्म पनि भवन निर्माण पूरा नहुँदा निर्माण कम्पनीको कार्यक्षमतासँगै म्याद थप गर्ने र निर्माणको अनुगमन गर्ने जिम्मेवार निकाय कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठेको छ । पटक–पटक समय थपिँदा पनि अपेक्षित प्रगति हुन नसक्नुले मन्त्रालयको अनुगमन र ठेक्का व्यवस्थापन प्रभावकारी नभएको भन्दै आलोचना हुन थालेको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक डा. मनोज विश्वकर्माका अनुसार दोस्रो पटक थपिएको म्याद २०८२ फागुन मसान्तसम्म पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि नागरिक समाज, पत्रकार, कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव तथा निर्माण व्यवसायीको उपस्थितिमा छलफल गरी तेस्रो पटक म्याद थप गरिएको थियो । तर तेस्रो पटक थपिएको समयसीमा समेत भवन निर्माण सम्पन्न नभएको उहाँले बताउनुभयो । “निर्माण कम्पनीले काम गरिरहेको छ, तर कामले गति लिन सकेन,” उहाँले भन्नुभयो । अब निर्माण कम्पनीले चौथो पटक म्याद थपका लागि समेत कार्यालयमा निवेदन दिएको छ । निर्माण कम्पनीले भदौ १५ गते म्याद थपको निवेदन पठाएको डा. विश्वकर्माले जानकारी दिनुभयो । सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थाअनुसार म्याद थपका लागि निर्धारित समयअगावै निवेदन दिनुपर्ने भए पनि ढिलो गरी निवेदन आएको उहाँको भनाइ छ । “म्याद थपको अधिकार कार्यालयलाई छैन । मन्त्रालयले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ,” उहाँले भन्नुभयो । डा. विश्वकर्माले अस्पताल प्रशासनले भवन निर्माणमा चासो नदिएको भन्ने आरोप गलत भएको दाबी गर्नुभयो । उहाँका अनुसार निर्माण कम्पनीलाई पटक–पटक छिटो काम गर्न आग्रह गरिए पनि अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन ।भवन निर्माणमा ढिलाइको प्रत्यक्ष मार भने अस्पतालमा उपचार गर्न आउने बिरामीले खेपिरहेका छन् । निर्माणाधीन भवन समयमै नबन्दा अस्पतालमा शय्या अभाव भएको र कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको डा. विश्वकर्माले बताउनुभयो ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले जिल्ला अस्पताल दैलेखको भवन निर्माणमा भएको ढिलाइ गम्भीर विषय भएको बताउनुभयो । उहाँले निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरे ठेक्का तोड्नेसम्मको कानुनी प्रावधान रहेको स्पष्ट पार्नुभयो । “ठेकेदारले काम नगरेकै आधारमा ठेक्का अनन्तकालसम्म लम्ब्याइरहन सकिँदैन,” उहाँले भन्नुभयो, “ठेक्का तोड्ने कानुनी बाटो हुँदाहुँदै पनि ठेकेदार अदालत जाने र निर्माण प्रक्रिया थप जटिल बन्ने समस्या छ ।” उहाँले दैलेख मात्रै नभई कर्णालीका अन्य जिल्लाका अस्पताल भवन निर्माणमा समेत यस्तै समस्या देखिएको बताउँदै अब निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कानुनी प्रक्रियामार्फत जवाफदेही बनाउनुपर्ने बताउनुभयो ।
निर्माणको जिम्मा पाएको श्री प्रेरा÷क्याराभान÷सुपर स्टार जेभीका प्रोप्राइटर तारा कुमारी शाहीले आफुहरुले भवन निर्माणका लागी काम निरन्तर गरिरहेको भएपनि तोकिएको मितिमा सम्पन्न गर्न नसकिएको बताउनुभयो । उहाँले बाहीर जिल्ला बाट कामदार ल्याउने र उहाँहरु भागेर जाने समस्याले कामको गति लिन नसकेको बताउनुभयो । जिल्ला अस्पताल दैलेख हाल १५ शय्याको स्वीकृत क्षमतामा रहे पनि ५१ शय्यासम्म सेवा दिँदै आएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण २०४२ सालमा निर्माण भएको पुरानो भवनबाटै बिरामीलाई कोचाकोच गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।