Loading... आजः बुधबार, भदौ ३१, २०८३
Trending

दैलेखमा घटेन कम उमेरको प्रसूति

..

कमल शर्मा
दैलेख  :   बालविवाह न्यूनीकरणका नाममा राज्य, स्थानीय तह तथा गैरसरकारी संघसंस्थाले वर्षेनी लाखौँ रुपैयाँ खर्च गर्दै आए पनि दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घट्न सकेको छैन । जिल्ला अस्पताल दैलेखको चार आर्थिक वर्षको तथ्याङ्कले बालविवाह न्यूनीकरण अभियानको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ । जिल्ला अस्पतालमा प्रसूति सेवा लिने महिलामध्ये २० वर्षमुनिको उमेरमै प्रसूति हुनेको संख्या पछिल्ला वर्षमा उच्च देखिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा अस्पतालमा कुल ५७० जना प्रसूति भएका थिए । त्यसमध्ये २० वर्षमुनिका प्रसूतिको हिस्सा १५.४४ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०÷०८१ मा कुल ५२२ जना प्रसूति भएकोमा २० वर्षमुनिको प्रसूति १५.५२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा भने कुल ६४२ जना प्रसूति भएकोमा २० वर्षमुनिको प्रसूति १८.३८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा अस्पतालमा ६५८ जना प्रसूति भएकामा २० वर्षमुनिको प्रसूति १७.७८ प्रतिशत रहेको जिल्ला अस्पतालले जनाएको छ । चार वर्षको तथ्याङ्क हेर्दा २० वर्षमुनिको प्रसूति १५ प्रतिशतको हाराहारीबाट बढेर १८ प्रतिशतभन्दा माथिसम्म पुगेको देखिन्छ । पछिल्लो वर्ष केही कमी आए पनि कम उमेरमा प्रसूति हुने दर अपेक्षित रूपमा घट्न सकेको छैन । बालविवाह न्यूनीकरणका लागि सरकारी निकाय, स्थानीय तह तथा गैरसरकारी संघसंस्थाले विद्यालयदेखि समुदायस्तरसम्म विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । बालविवाह रोकथाम, किशोरी शिक्षा, सचेतना तथा सामाजिक व्यवहार परिवर्तनका नाममा लाखौँ रुपैयाँ खर्च हुँदै आए पनि अस्पतालको तथ्याङ्कले अभियानको प्रभाव प्रभावकारी हुन नसकेको देखाएकोछ ।
जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डा. मनोजकुमार विश्वकर्माले २० वर्षमुनिका प्रसूति हुनेको संख्या अपेक्षित रूपमा घट्न नसकेको बताउनुभयो । उहाँका अनुसार सानै उमेरमा विवाह गर्ने र असुरक्षित यौनसम्पर्कका कारण किशोरीहरू शारीरिक रूपमा पूर्ण परिपक्व नहुँदै गर्भवती हुने तथा प्रसूति हुने समस्या रहेको छ । “सानै उमेरमा विवाह गर्ने र असुरक्षित यौनसम्पर्क राख्दा आमा परिपक्व नहुँदै बच्चा जन्माउने समस्या हुन्छ,” उहाँले भन्नुभयो, “यसले आमा र बालबालिका दुवैलाई कमजोर बनाउने जोखिम हुन्छ ।” डा. विश्वकर्माका अनुसार कम उमेरमै प्रसूति हुँदा बच्चा पूर्ण रूपमा स्वस्थ नहुने तथा कुपोषणको जोखिमसमेत बढ्ने गरेको छ । किशोरी आमाबाट जन्मिएका बालबालिकामा पोषणसम्बन्धी समस्या देखिन सक्ने उहाँको भनाइ छ ।
जिल्ला अस्पतालमा रहेको पोषण पुनस्र्थापना केन्द्रमा पाँच वर्षमुनिका ५६ जना शीघ्र कुपोषित बालबालिकालाई राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । त्यस्तै, १३६ जना शीघ्र कुपोषणका बिरामी फेला परेको डा. विश्वकर्माले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि वर्षौँदेखि अभियान सञ्चालन भइरहे पनि कम उमेरमै गर्भधारण र प्रसूति हुने दरमा उल्लेख्य सुधार नआउनुले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर समीक्षा आवश्यक देखिएको सरोकारवालाले बताएका छन । महिला तथा बालअधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी सुनिता चन्दले स्वास्थ्यमा प्रसुती हुनेहरुको सख्यामा किशोरी आमाहरुको संख्या हेर्दा अभियान प्रभावकारी हुन नसकेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो कार्यक्रम सञ्चालन र बजेट खर्चमा मात्रै केन्द्रित हुने तर त्यसको परिणाम मापन नगर्ने प्रवृत्तिले समस्या ज्यूँका त्यूँ रहेको छ ।