जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव


कमल शर्मा
दैलेख : दैलेख जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्य जनशक्तिको अभाव झेल्दै सञ्चालन हुँदै आएको छ । कर्णाली प्रदेश सरकारको स्वीकृत संगठन संरचना तथा दरबन्दी तेरिजमा विभिन्न सेवा समूहका ६१ जनाको दरबन्दी रहेकामा ३१ पद रिक्त रहेका छन । जिल्ला अस्पतालमा कन्सल्टेन्ट पेडियाट्रिक्स, कन्सल्टेन्ट अब्स्टेट्रिक्स, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सल्टेन्ट जनरल फिजिसियन गरी छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत छ । तर यी दरबन्दीमा स्थायी रूपमा विशेषज्ञ चिकित्सक कार्यरत छैनन् ।
अस्पतालका कार्यालय प्रमुख डा. मनोज विश्वकर्माका अनुसार विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न छात्रवृत्ति करारअन्तर्गत एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एक जना छाला रोग विशेषज्ञले सेवा दिइरहेका छन् । त्यस्तै पाँच जना मेडिकल अधिकृत र एक जना डेन्टल सर्जनसमेत छात्रवृत्ति करारमा कार्यरत छन् । मेडिकल अधिकृततर्फ पाँच जनाको दरबन्दी रहेकामा एक जना स्थायी र एक जना करार सेवामा कार्यरत छन् । बाँकी तीन पद रिक्त रहेका छन् । त्यसैगरी स्थायी डेन्टल सर्जन, जनस्वास्थ्य अधिकृत, रेडियोग्राफी टेक्नोलोजिस्ट र फिजियोथेरापी सहायकका पदसमेत रिक्त रहेको अस्पतालले जनाएको छ । स्थायी दरबन्दीअनुसार आवश्यक जनशक्ति नहुँदा अस्पतालले छात्रवृत्ति करारबाट चिकित्सक परिचालन गरी सेवा सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त रहँदा जिल्लामै उपलब्ध हुनुपर्ने कतिपय विशेषज्ञ स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । थप उपचार तथा विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था आउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
जनशक्ति अभावका बीच पनि जिल्ला अस्पतालले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा काम गरिरहेको जनाएको छ । अस्पतालले आयोजना गरेको आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा अस्पतालको जनशक्ति अवस्था र स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालय प्रमुख डा. विश्वकर्माका अनुसार जनशक्ति अभावका बाबजुद जिल्लाको स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसाजिल्लाका ११ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा, १३६ जना शीघ्र कुपोषणका बिरामी फेला,पाँच वर्षमुनिका शीघ्र कुपोषित ५६ जना बालबालिकालाई पोषण पुनस्र्थापना केन्द्रमा राखेर उपचार, दुई जनाको मातृमृत्यु,तीन हजार ५०४ जना सुत्केरी जिल्लामा औलोका १० जना नयाँ बिरामी फेला, क्षयरोगका १६४ जना बिरामीको उपचारसेवा, एचआईभी संक्रमित २५५ जनालाई एआरटी सेवा प्रदान भइरहेको छ ।
जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीमध्ये सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी रहेका छन् जिल्ला अस्पताल दैलेखले आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै ३६ हजार २०८ जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । विशेषज्ञ चिकित्सक तथा अन्य आवश्यक स्वास्थ्यकर्मीका दरबन्दी रिक्त रहे पनि छात्रवृत्ति करारबाट चिकित्सक व्यवस्थापन गरेर सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा स्वीकृत दरबन्दीअनुसार स्थायी जनशक्ति व्यवस्थापनका लागी सरकाले पहल गर्नु पर्ने डा ः बिश्वकर्माले बताउनुभयो । जिल्ला अस्पतालको भवन निर्माण हुन नसक्नु र दरबन्दि अनुसारको चिकित्सको व्यवस्थापन हुन नसक्नु प्रमुख सस्या रहेको उहाँको भनाइछ ।

