पहिरोको जोखिममा रहेका आठ घरधुरी स्थानान्तरण


कमल शर्मा
दैलेख : लगातारको भारी वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको दैलेखको नारायण नगरपालिका–१ नमुना बस्तीका आठ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वर्षाका कारण बस्तीमा पहिरो खस्नुका साथै कमजोर भूगोलका कारण केही घर चर्किन थालेपछि ठूलो क्षति हुन नदिन जोखिममा रहेका परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा नारायण नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा नमुना बस्तीका आठ घरधुरीलाई गहतारी नजिक रहेको कृषि हाट बजार क्षेत्रमा राखिएको छ । तत्कालका लागि रातको समयमा सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “लगातारको भारी वर्षाका कारण नमुना बस्ती उच्च जोखिममा परेको छ । कमजोर भूगोलका कारण घरहरू चर्किन थालेपछि ठूलो क्षति हुन नदिन जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राखिएको हो,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार नमुना बस्ती वर्षातको समयमा हरेक वर्ष जोखिममा पर्ने गरेको छ। “यो बस्ती वर्षातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ,” उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतमको टोलीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा लैजानका लागी सहयोग गरेको थियो । प्रहरीकै भ्यानमा जोखिम परिवारका लत्ताकपडा र खान पकाउने सामाग्री बोकेर पु¥याइएको प्रहरी निरीक्षक गौत्तमले बताउनुभयो । स्थानान्तरण गरिएका आठ घरधुरीमा आरती बादी, ममता बादी, अन्जु बादी, रामकुमारी बादी, गणेश बादी, कौशिला नेपाली, हिरा बादी र बालकुमारी सुनारका परिवार रहेका छन् । आठ जना परिवारका ३७ जना रहेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले बस्तीमा थप पहिरोको जोखिम कायमै रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

