टोकन प्रणालीले फेरियो दुल्लु नगरपालिकाको सेवा प्रवाह


कमल शर्मा
दैलेख : दुल्लु नगरपालिकामा कुनै सिफारिस लिन, राजस्व बुझाउन वा अन्य प्रशासनिक सेवा लिन पुग्ने सेवाग्राही अब पहिलेजस्तो शाखा–शाखा धाउनुपर्ने बाध्यतामा छैनन् । कार्यालयको मूलद्वारमै रहेको एकीकृत सेवा केन्द्रबाट आवश्यक सेवाअनुसार टोकन लिएपछि उनीहरू प्रतीक्षास्थलमा बसेर आफ्नो पालो कुर्छन् । यसबीच सम्बन्धित शाखाले प्रणालीमार्फत फाइल अघि बढाउँछ भने सेवाग्राहीले डिस्प्लेमा आफ्नो काम कहाँसम्म पुगेको छ भन्ने जानकारी सहजै हेर्न सक्छन् । काम सम्पन्न भएपछि कर्मचारीले सेवाग्राहीलाई जानकारी दिएर आवश्यक कागजात उपलब्ध गराउँछन् ।फाइलमा केही अपुग भएको खण्डमा तत्काल सम्बन्धीत सेवाग्राहीलाई खवर गरिन्छ ।
सेवा प्रवाहलाई छरितो, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले दुल्लु नगरपालिकाले एकीकृत टोकन प्रणाली सञ्चालनमा ल्याएपछि कार्यालयको पुरानो दृश्य फेरिएको छ । एउटै कामका लागि कोठा–कोठा चहार्ने झन्झट हटेको छ भने सेवाग्राहीले पालोअनुसार सहज रूपमा सेवा पाउन थालेका छन् । नगरपालिकाका अनुसार यस प्रणालीले भीड व्यवस्थापन, समयको बचत र सेवाप्रवाहमा पारदर्शिता बढाएको छ ।
दुल्लु नगरपालिका–८ का लालबहादुर भण्डारीले टोकन प्रणाली लागू भएपछि नगरपालिकाबाट सेवा लिन निकै सहज भएको बताउनुभयो । उहाँका अनुसार पहिले एउटा कामका लागि एक शाखाबाट अर्को शाखा धाउनुपर्ने र आवश्यक प्रक्रिया बुझ्नसमेत कठिन हुने अवस्था थियो । अहिले भने टोकन लिएर आफ्नो पालो कुर्दा मात्र सेवा प्राप्त हुने भएकाले अनावश्यक झन्झट हटेको उहाँको अनुभव छ । पहिला एउटा शाखाबाट अर्को शाखा धाउनुपथ्र्यो । कतिखेर कहाँ जानुपर्ने भन्ने अन्योल पनि हुन्थ्यो । अहिले टोकन लिएर बसेपछि काम आफैं अघि बढ्छ । झन्झट हटेको छ र सेवा लिन धेरै सहज भएको छ,“ भण्डारीले भन्नुभयो ।
नगर प्रमुख भरत रिजालले सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउन एकीकृत टोकन प्रणाली विकास गरिएको बताउनुभयो । उहाँका अनुसार यस प्रणालीले चिनजान वा पहुँचका आधारमा छिटो–ढिलो सेवा हुने पुरानो प्रवृत्तिको अन्त्य गर्दै सबै सेवाग्राहीलाई समान रूपमा सेवा उपलब्ध गराउने वातावरण सिर्जना गरेको छ । “हामीले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा दिने उद्देश्यले टोकन प्रणाली लागू गरेका हौँ । यसले पहुँच वा चिनजानका आधारमा सेवा लिने प्रवृत्ति अन्त्य गर्दै सबै नागरिकलाई समान अवसर सुनिश्चित गरेको छ,“ नगर प्रमुख रिजालले भन्नुभयो ।
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बुढाक्षेत्रीले नगरपालिकाले आगामी दिनमा सूचना प्रविधिमा आधारित सेवालाई थप विस्तार गर्दै स्थानीय सरकारलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले टोकन प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै दुल्लु नगरपालिकामा सेवा लिन आउने नागरिकको समय, श्रम र अनावश्यक दौडधुप घटेको अनुभवले स्थानीय तहको सेवा प्रवाह सुधारमा प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको बताउनुभयो । स्थानीयले टोकन प्रणालीलाई अझै व्यवस्थीत बनाएर आवश्यक पर्ने कागजपत्र सहित विवरण समेत त्यसमा समाबेशन गर्न सकेको खण्डमा सेवा प्रवाह अझै प्रभावकारी हुने बताएका छन ।

