पैचे बाजाको धुन संगै भित्राईन्छ छोरा


कमल शर्मा
दैलेख : जिल्ला अस्पताल दैलेखबाट नवजात शिशु बोकेको एम्बुलेन्स घरको आँगनमा रोकिएसँगै पञ्चेबाजाको धुन गुञ्जियो। नवजात छोरा जन्मिएको खुसीमा गाउँलेहरू भेला भए । दैलेखका धेरै गाउँमा छोरा जन्मिँदा बाजागाजासहित उत्सव मनाउने परम्परा अझै जीवित छ । तर समयसँगै छोरी जन्मिँदा पनि समान रूपमा खुसी मनाउने संस्कार विस्तार हुँदै गएको स्थानीयहरू बताउँछन् ।
नारायण नगरपालिका–१० भवानीका किशोर बस्नेतको परिवारमा दोस्रो सन्तानका रूपमा छोरा जन्मिएपछि गाउँ नै उत्सवमय बन्यो । जिल्ला अस्पतालमा जन्मिएका नवजात शिशु र सुत्केरी आमालाई एम्बुलेन्समार्फत घर ल्याइँदा आफन्त, छिमेकी र गाउँलेहरू स्वागतका लागि घरआँगनमा भेला भएका थिए । एम्बुलेन्स घर नजिक पुग्नेबित्तिकै पञ्चेबाजा बज्न थाल्यो र नवजात शिशुलाई बाजागाजासहित घरभित्र्याइयो । वैदेशिक रोजगारीबाट फर्किएका बस्नेतका पहिलो सन्तान छोरी हुन् । तर पहिलो सन्तान जन्मिँदा भने यसरी बाजागाजासहित उत्सव मनाइएको थिएन । दोस्रो सन्तान छोरा जन्मिएपछि गाउँभरि खुसी साटियो । यस्तै दुल्लु नगरपालिका–३ का प्रकाश कार्कीको घरमा पनि छोरा जन्मिएपछि गाउँलेहरूले बाजागाजासहित स्वागत गरे । त्यसपछि छैठी, धमारी र देउडा खेल्ने तयारीसमेत सुरु भयो । दैलेखका ग्रामीण भेगमा छोरा जन्मिएपछि बाजा बजाउने, छैठी मनाउने, धमारी र देउडा खेल्ने चलन अझै धेरै ठाउँमा कायम छ । दुल्लु नगरपालिका–३ का दीपेन्द्र कार्कीका अनुसार आफ्नो गाउँमा अहिले पनि छोरा जन्मलाई विशेष अवसरका रूपमा मनाइन्छ । “छोरी जन्मिँदा सामान्य खुसी मनाइन्छ । तर छोरा जन्मिएपछि, विशेष गरी पहिलो सन्तान छोरा भए, बाजा बजाउने, छैठी गर्ने, धमारी र देउडा खेल्ने परम्परा अझै कायम छ,“ उहाँले भन्नुभयो ।
तर समाजको सोच भने विस्तारै बदलिँदै गएको छ। नारायण नगरपालिका–१० भवानीका धनबहादुर बस्नेतका अनुसार अहिले धेरै परिवारले छोरा–छोरी दुवैको जन्मलाई समान रूपमा उत्सवका साथ मनाउन थालेका छन् । “पहिले जस्तो छोरा जन्मिँदा मात्रै होइन, अहिले छोरी जन्मिँदा पनि बाजा बजाएर खुसी मनाउने चलन बढ्दै गएको छ । पहिलो सन्तान जे जन्मिए पनि परिवारले खुसी मनाउने संस्कार विस्तार हुँदै गएको छ,“ उहाँले भन्नुभयो ।
परम्पराको इतिहास सम्झिँदै नारायण नगरपालिकाका ज्येष्ठ नागरिक कालीबहादुर बोगटी भन्नुहुन्छ, पहिले धेरै सन्तान जन्मिने भए पनि सबै बालबालिका बाँच्ने अवस्था हुँदैनथ्यो । त्यसैले नवजात शिशु सकुशल भएपछि गाउँलेहरू मिलेर छैठी खेल्ने, बाजा बजाउने र न्वारनमा ठूलो भोज गर्ने चलन बसेको हो । “पहिले धेरै छोरा–छोरी जन्मिन्थे, तर सबै बाँच्दैनथे । बच्चा सुरक्षित भएपछि गाउँलेहरू जम्मा भएर छैठी खेल्ने, बाजा बजाउने र न्वारनमा ठूलो भोज दिने चलन थियो । विगतमा वंश चलाउने सोचका कारण छोरा जन्मिँदा बढी रमाइलो गरिन्थ्यो,“ उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले शिक्षा र चेतनाको विस्तारसँगै त्यो सोचमा पनि परिवर्तन आउन थालेको छ ।
नारायण नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गीता बुढाले विगतको तुलनामा समाजमा लैङ्गिक विभेद उल्लेखनीय रूपमा घटेको बताउनुहुन्छ । अहिले छोरा वा छोरी जे जन्मिए पनि धेरै परिवारले भव्य रूपमा खुसी मनाउने गरेका छन् । कतैकतै छोरा जन्मिँदा बढी उत्सव मनाएको देखिए पनि छोरी भएकै कारण आमाले अपहेलना सहनुपर्ने अवस्था पहिले जस्तो छैन,“ उहाँले भन्नुभयो । उहाँका अनुसार स्थानीय तहले सञ्चालन गरेका लैङ्गिक समानता, महिला अधिकार र बालअधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ । नयाँ पुस्ताले छोरा–छोरी दुवैलाई समान अवसर र सम्मान दिनुपर्ने सोचलाई आत्मसात् गर्न थालेका छन् । एकातिर दैलेखका गाउँमा बाजागाजा, छैठी, धमारी र देउडासहित नवजात शिशुको स्वागत गर्ने परम्परा अझै जीवित छ। अर्कोतर्फ समाजको सोच पनि विस्तारै फेरिँदै छ। एक समय छोरा जन्मको खुसीमा मात्र गुञ्जिने बाजाको धुन अहिले कतिपय घरमा छोरी जन्मिँदा पनि सुनिन थालेको छ ।

