Loading... आजः आइतवार, साउन १७, २०८३
Trending

समय र खर्च बच्यो, दुःख घट्यो

..

कमल शर्मा
दैलेख  :   गुराँस गाउँपालिका वडा न ८ का ७५ वर्षीय बखत बहादुर वलीलाई गुराँसेको चिसोमा बिहानै घरबाट निस्किएर बैंकको लाइनमा दिनभर उभिनु नयाँ कुरा थिएन । सामाजिक सुरक्षा भत्ता बुझ्न गाउँपालिकाको केन्द्रसम्म पुग्दा साँझ परिसक्थ्यो । उमेरले शरीर कमजोर भइसकेको थियो, तर भत्ता लिन भने घरका एक जना सदस्यले आफ्नो दिनभरको काम छाडेर उहाँलाई सँगै लैजानैपथ्र्यो । “भत्ता लिन बिहानै हिँड्नुपथ्र्यो । बैंकमा घण्टौँ लाइनमा बस्नुपथ्र्यो । हामीलाई मात्रै होइन, घरका एक जनाको पनि पूरा दिन त्यसैमा बित्थ्यो । खेतीपाती र अरू काम रोकिन्थे,“ बखत बहादुर वलीले भन्नुभयो । अहिले आफ्नै वडामा भत्ता पाउँदा समय बचेको छ, खर्च बचेको छ र दुःख पनि धेरै घटेको छ ।
गुराँस गाउँपालिका–१ की ८० वर्षीया हरिमाया बिकका लागि पनि सामाजिक सुरक्षा भत्ता बुझ्ने दिन सहज थिएन । बुढेसकालको शरीर लिएर पालिका केन्द्रसम्म पुग्नु, बैंकको लाइनमा घण्टौँ कुर्नु र साँझमात्र घर फर्किनु उहाँको बाध्यता थियो । एक्लै जान सकिँदैनथ्यो । छोरा वा नातिमध्ये एक जनाले दिनभरको काम छाडेर सँगै जानुपथ्र्यो । बैंकमा पालो कुर्दाकुर्दै दिन बित्थ्यो । अहिले आफ्नै वडामा भत्ता पाउँदा धेरै सहज भएको छ । हामीलाई मात्रै होइन, परिवारलाई पनि राहत भएको छ,“ हरिमाया बिकले सुनाउनुभयो । बखत बहादुर वली र हरिमाया जस्ता सयौँ ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अन्य लाभग्राहीको यही समस्यालाई मध्यनजर गर्दै दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने व्यवस्था लागू गरेपनि अहिले त्यहाँका नागरिकलाई सहज भएको छ । वर्षायाममा सडक अवरुद्ध हुने, यात्रा जोखिमपूर्ण बन्ने र सेवाग्राहीलाई पालिका केन्द्रसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० बाट वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णयले नागरिकको समयको बचत,खर्च र दुःखको घटेको नागरिकले अनुभुती गरेका छन ।
गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले अघिल्लो आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता साउन ६ गतेदेखि १६ गतेसम्म गाउँपालिकाका सबै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वर्षायाममा ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीले अनावश्यक सास्ती र जोखिम बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न तथा सेवा नागरिकको पहुँचमै पु¥याउने उद्देश्यले वडा–वडामै भत्ता वितरणको व्यवस्था गरिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अन्य लाभग्राहीले सहज रूपमा, समयमै र सुरक्षित ढंगले सेवा पाऊन् भन्ने हाम्रो उद्देश्य हो,“ अध्यक्ष बिसीले भन्नुभयो ।
गाउँपालिकाभित्र करिब दुई हजार सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेका छन् वडाबाटै भत्ता वितरण सुरु भएपछि लाभग्राहीले पालिका केन्द्रसम्म धाउनुपर्ने बाध्यता हटेको छ । बैंकको लाइनमा घण्टौँ कुर्नुपर्ने झन्झट छैन । परिवारका सदस्यले दिनभर आफ्नो काम छाडेर साथ दिनुपर्ने अवस्था पनि कम भएको छ । यसले समय, यातायात खर्च र श्रमको बचत गरेको मात्रै होइन, वृद्धवृद्धा तथा अशक्त नागरिकलाई सम्मानपूर्वक सेवा प्राप्त गर्ने वातावरण पनि सिर्जना गरेको छ।
गुराँसका ज्येष्ठ नागरिकहरुले भन्नुहुन्छ सामाजिक सुरक्षा भत्ता अब रकम बुझ्ने कार्यक्रम मात्रै होइन, स्थानीय सरकारले नागरिकको दुःख बुझेर सेवा घरदैलोसम्म पु¥याएको अनुभूति पनि हो । वडाबाटै भत्ता वितरणले समय बचाएको छ, खर्च बचाएको छ र वर्षौंदेखिको दुःख पनि घटाएको छ ।