खुल्ला पेट्रोल बिक्री–वितरणमा प्रशासनको रोक


दैलेख : दैलेख सदरमुकामसहित जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरणमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतामा पेट्रोलियम पदार्थको अवैध बेचबिखन नियन्त्रण तथा सहज आपूर्ति व्यवस्थापनका विषयमा आयोजित जिल्ला बजार अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय खुल्ला रूपमा पेट्रोल बिक्री गर्ने तथा नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढी रकम असुल्ने गरेको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि बजार व्यवस्थापन र उपभोक्ताको हितलाई ध्यानमा राखेर निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
बैठकले लाइसेन्सबाहेक बजारमा पेट्रोलियम पदार्थ बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले तत्काल त्यस्तो कार्य रोक्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले भन्नुभयो बजारमा नियमित छड्के अनुगमन सञ्चालन गर्ने र अनुगमनका क्रममा अनुमति बिना पेट्रोलियम पदार्थ बिक्री गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय पनि गरिएको छ ।
जिल्लामा मागअनुसार पेट्रोलियम पदार्थ उपलब्ध हुन नसक्दा उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै नियमित आपूर्ति व्यवस्थापन गर्न नेपाल आयल निगम सुर्खेतलाई अनुरोध गर्ने निर्णय गरिएको छ । हाल आवश्यकताअनुसार हरेक हप्ता कम्तीमा दुई ट्याङ्कर पेट्रोल आपूर्ति हुनुपर्ने भए पनि पर्याप्त आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको बैठकको निष्कर्ष छ । पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न नेपाल आयल निगमसँग समन्वय गरी नियमित आपूर्ति व्यवस्था मिलाउने, बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र उपभोक्ताले तोकिएको मूल्यमा इन्धन पाउने वातावरण बनाउन सम्बन्धित निकायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको छ ।
नागरिक समाजका अगुवा बिर बहादुर भण्डारीले लाइसेन्स बाहेक अन्यले खुल्लारुपमा पेट्रोलियम पद्धार्थको बिक्रि वितरणमा रोक लगाउँदा स्थानीयस्तरमा त्यसमा समस्या पर्ने देखिने । उद्योगीले पे«टोल पम्प बाट लैजाने र त्यही मुल्यमा बिक्रि वितरण गर्न सकिने बताउनुभयो । उहाँले दैलेखको आठबिस नगरपालिका स्थानीयले दैलेख बजारमा आएर पेट्रोल हाल्न नसक्ने बताउनुभयो । त्यस्तै बजारमा खाना पकाउने ग्याँसलाई समेत सहज ढंगले आपुर्ती गर्नु पर्ने र कसैले लुकाएर राखेको भेटिएमा कानुन बमोजीम कार्वाही हुने जिल्ला प्रशासनले जानकारी दिएको छ ।

